काठमाडौँ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले नेता भीम रावलले अमेरिकी परियोजना एमसिसीको विरोध गरेकोप्रति आक्रोश ब्यक्त गरेका छन्।
नुवाकोटको किस्पाङ गाउँपालिकाको भवनको सोमवार उद्घाटन गर्ने कार्यक्रममा देउवाले एमसिसीको विरोध गरिरहेका रावलप्रति आक्रोश व्यक्त गरेका हुन् ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा दर्ता गरेको एमसिसी आफ्नो सरकारले पास गरेको बताए ।
‘भीम रावलजी सबभन्दा बढी एमसीसीको खिलाफमा हुनुहुन्छ, त्यसबेला उहाँ रक्षामन्त्री हुनुहुन्थ्यो । मन्त्री हुँदा आफैंले पास गर्ने, त्यसबेला किन राजीनामा गर्नुभएन ? भीम रावलले के हेरेर बसे त्यसबेला ? यस्ता दुई जिब्रे कुरा गर्न पाइन्छ ?,’ आक्रोशित हुँदै देउवाले भने, ‘आफू रक्षामन्त्री हुँदा संसदमा ल्याउने, मैले ओलीजीले ल्याएको प्रस्ताव ल्याउँदा भीम रावललाई किन टाउको दुख्ने ? । केपी ओलीको सरकारमा मन्त्री थिए उनी, त्यसबेला किन एमसिसीको विरोध गरेर राजीनामा गर्नुभएन ? अहिले आएर बोल्ने लाज छैन ?’
यस्तै, प्रधानमन्त्री देउवाले आगामी वैशाख २० गते हुने स्थानीय तहको निर्वाचन गर्न सरकार जिम्मेवार भएकाले सभ्य ढंगले गर्ने स्पष्ट पारे। सरकार जनताको कामप्रति कटिबद्ध रहेको उनले बताए।