• बैशाख २२ २०८३, मंगलवार

भारतले महाकालीमा डोजर चलाउँदा सरकारको मौनताले लज्जाबोध हुन्छ : भीम रावल

फाल्गुन २९ २०७८, आईतवार

काठमाडौँ। नेकपा एमालेका नेता भीम रावलले दार्चुलाको महाकाली नदीमा भारतले एकतर्फी डोजर चलाउँदा पनि सरकारको मौनताले लज्जाबोध हुने टिप्पणी गरेका छन्

आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता रावलले भने, ‘दार्चुलाको बंगाबगरमा केही दिनअघि भारतीय अन्तर्राष्ट्रिय कानुन र दुई देशको असल सम्बन्धनको मान्यताविपरीत तटबन्ध निर्माणको काम भइरहेको छ। त्यसका स्थानीयले आवाज उठाउँदासमेत सरकार बोलेको देखिएन। त्यहाँ राष्ट्रभक्त जनताले ढुंगाले हानेर रोक्नुपर्‍यो भन्दा सरकारको मौनताले लज्जाबोध हुन्छ।’

भारतले महाकालीमा एकतर्फी डोजर चलाएर दार्चुलाको सदमुकाम नै वर्षाको समयमा जोखिम हुने भएकाले बेलैमा सचेत हुनुपर्ने उनले बताए । उनले भारतको पछिल्लो गतिविधिबारे गृहमन्त्रीले संसदबाट जवाफ दिन पनि माग गरे।

नेता रावलले भने, ‘कालापानी, लिपुलेक र लिम्पियाधुराको चुच्चे नक्सा हामीले सार्वजनिक गरेका छौँ। त्यसपछि जग्गा फिर्ता गर्नको लागि कहाँ वार्ता भयो? त्यो संसद् र जनतालाई जानकारी होस्।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक रूपमै लिपुलेकमा सडक बनाउने बोल्दासमेत सरकार बोल्न नसकेको बताए। यस्तै, अमेरिकी सहयोग परियोजना एमसिसी पास भएपछि सरकारले के गरिरहेको त्यसको जानकारी गराउन माग गरे।