काठमाडौँ। प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव आइतबारको प्रतिनिधि सभाको बैठकमा पेस गरिएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जबराविरुद्धको महाअभियोग प्रस्ताव पेस गरेका हुन् ।
उनले प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाउनुपर्ने कारणसहितको प्रस्ताव बैठकमा पेस गरेका थिए । प्रस्ताव पेस गर्ने क्रममा प्रमुख सचेतक गुरुङले जबराले स्वतन्त्र न्यायपालिकाको सिद्धान्त विपरीत काम गर्न खोजेको बताए ।
जबराका कारण कात्तिकदेखि माघसम्म न्यायलयबाट न्याय सम्पादन हुन नसकेको उनको भनाइ थियो । जबराका कारण न्यायालयमा भ्रष्ट्राचार, विकृति र विसंगति देखा परेको उनले बताए ।
प्रधानन्यायायधीश जबराले संविधानले दिएको क्षेत्राधिकारलाई पूरा गर्न नसकेको उनको भनाइ थियो । संवैधानिक परिषद्को सदस्य भएकाले कार्यपालिकामा पनि हिस्सा खोजेको गुरुङले बताए ।
गत फागुन १ गते ३ जना प्रस्ताव र ९५ जना समर्थिकसहित प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।