काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको भूमिका संवेदनशील र जवाफदेहीपूर्ण हुनुपर्ने बताए ।
ललितपुरको गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवस तथा नगरपालिकाको प्रशासनिक भवन समुद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले सङ्घीय शासन प्रणालीसँगै संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा विभिन्न महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको उल्लेख गरे । उनले नागरिकको नजिकको सरकार भएकाले पनि स्थानीय तहको भूमिका संवेदनशील र जवाफदेहीपूर्ण हुनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री देउवाले भने, ‘नागरिकको नजिकको सरकार स्थानीय तह भएकाले यो सरकारसँग नागरिकको अपेक्षा धेरै हुनु स्वभाविक हो । सीमित साधनस्रोतका बाबजुद स्थानीय सरकारले जनताको अपेक्षा र भावना बमोजिमको काम सम्पन्न गरेर जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहिता निर्वाह गर्न सक्नुपर्दछ ।’
प्रधानमन्त्री देउवाले नगरपालिकाले गरेका विकास निर्माणका काम र सेवा प्रवाहमा गरेको सुधारका विषय नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएको उल्लेख गर्दै भने, ‘जनप्रतिनिधिले जनसवालका काम गरेर मात्र हुँदैन, काममा पारदर्शिता गुणस्तरीयता र जवाफदेहिता सुनिश्चितसमेत गर्न अत्यन्तै आवश्यक छ । त्यसैगरी गरेका कामको जानकारी नागरिकसम्म पुर्याउनु अत्यावश्यक छ । त्यसका लागि गोदावरी नगरपालिकाले ‘गोदावरी’ नामको पत्रिका प्रकाशित गरेकोमा समेत बधाई दिन चाहन्छु ।’