• बैशाख २२ २०८३, मंगलवार

बिआरआई परियोजना अघि बढाउन दुवै देशको प्रयास आवश्यक छ : राष्ट्रपति

फाल्गुन २७ २०७८, शुक्रबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनसँग सम्झौता गरिएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतका परियोजना अघि बढाउन दुबै देशको साझा प्रयास आवश्यक रहेको बताएकी छिन् ।
अंग्रेजी भाषाको चिनियाँ अखबार ग्लोबल टाइम्समा बिहीबार प्रकाशित अन्तवार्तामा राष्ट्रपति भण्डारीले हस्ताक्षर गरेको पाँच वर्ष बिते पनि बिआरआई प्रोजेक्टमा उल्लेख प्रगति नभएको उल्लेख गरेकी छिन् ।

नेपाल बिआरआईको सदस्य राष्ट्र हो । हिमालय पार बहुआयामिक सम्पर्क सञ्जाल बनाउने अवधारणाको हामी प्रशंसा गर्दछौं ।

तिनलाई हामी नेपालको पूर्वाधार विकासका अवसरका रूपमा लिँदै प्रक्रिया अघि बढाउन चाहन्छौं,’ राष्ट्रपति भण्डारीले भनेकी छिन्,‘एमओयूमा हस्ताक्षर भएको पाँच वर्षमा पनि धेरै कारणले बिआरआई परियोजनाले गति लिन सकेका छैनन् । तिनलाई अघि बढाउन हामीले साझा प्रयास लगाउनु पर्छ ।’

राष्ट्रपति भण्डारीले सन् २०१९ मा आफूले गरेको चीनको राजकीय भ्रमण र पछि चिनियाँ राष्ट्रपति सी चिनफिङले गरेको नेपालको भ्रमणको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध अहिले समस्यारहित रहेको बताएकी छिन् ।

उनले नेपालमा कोरोनाभाइरसको महामारी फैलिरहेका बेला चीनले स्वास्थ्य उपकरणदेखि खोपसम्म उपलब्ध गराएकोमा धन्यवादसमेत व्यक्त गरेकी छिन् ।