• बैशाख २२ २०८३, मंगलवार

निर्वाचन आयोगले भोलि राजनीतिक दलसंग छलफल गर्दै

फाल्गुन २६ २०७८, बिहीबार

काठमाडाैं ।  निर्वाचन आयोगले भोलि राजनीतिक दलसंग छलफल गर्ने भएको छ ।

आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा राजनीतिक दललाई हालसम्मको कार्यप्रगति जानकारी गराउँदै अपेक्षाबारे छलफल गरी रायसुझाव लिने भएको छ ।

सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई भोलि शुक्रबार बिहान ११ः३० बजे छलफलका लागि आमन्त्रण गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

“निर्वाचन घोषणा भएको करिब एक महिना पूरा भयो, यस अवधिमा आयोगबाट भएका क्रियाकलाप जानकारी गराउने, आयोगसँग दलका अपेक्षाका विषयवस्तुबारेमा छलफल तथा अन्तरक्रिया गरी रायसुझाव लिने उद्देश्य हो”, उनले भने ।