झापा । प्रहरीले झापाका विभिन्न स्थानहरुबाट ७ वटा मोटरसाइकल चोरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।
मोटरसाइकल चोरीको घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका–७ बस्ने २१ वर्षीय प्रकाश सहनी, २४ वर्षीय प्रकाश दर्जी, २१ वर्षीय दिपक उराउ, २२ वर्षीय दिपेश राजबंशी, सोही नगरपालिका–१ बस्ने ३० वर्षीय बिर्ख लिम्बु र सोही नगरपालिका–६ समिम ग्यारेजका संचालक भारत किसनगंज बिरखोर घर भएका १९ वर्षीय मोहम्मद समिम रहेका छन् ।
बिर्तामोडस्थित एभरेष्ट बैंकको शाखा कार्यालयको कम्पाउण्डमा पार्किङ गरी राखेको लु.८३ प ३५५४ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा प्रकाश सहनीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा अन्य पाँच जनाको सहयोगमा उनले बिभिन्न मिति र स्थानबाट ७ वटा मोटरसाइकल चोरी गरेको खुल्न आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूमध्ये प्रकाश सहनी, प्रकाश दर्जी, दिपक उराउ र दिपेश राजवंशीले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बेचबिखन गर्ने ठाउँसम्म पुर्याउने गरेको प्रहरीले जनाएको छ ।
बिर्ख लिम्बुले चोरी गरी ल्याएको मोटरसाइकल अन्य व्यक्तिलाई बिक्री गर्ने र मोहम्मद समिम चोरी गरी ल्याएको मोटरसाइकलको पार्टपुर्जा, नम्बरप्लेट परिवर्तन गरी विक्री गर्ने गरेको प्रहरीले बताएको छ । उनीहरूको साथबाट प्रहरीले चोरी भएको ७ वटा मोटरसाइकल समेत बरामद गरेको छ ।