• बैशाख २२ २०८३, मंगलवार

आफैं पुँजी जुटाएर ठूला परियोजना अघि बढाउन लगानी बोर्डलाई अर्थमन्त्रीको निर्देशन

फाल्गुन २६ २०७८, बिहीबार

काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले लगानी बोर्डलाई आफैंले पूँजी जुटाएर ठूला परियोजना अघि बढाउन निर्देशन दिएका छन्।

लगानी बोर्ड अन्तर्गतको अनुगमन तथा सहजीकरण समितिको सातौं बैठकमा सहभागी हुँदै मन्त्री शर्माले लगानी बोर्ड पूँजी निर्माणमा अघि बढे मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए ।

बोर्डका उपाध्यक्षसमेत रहेका अर्थमन्त्री शर्माले निजी क्षेत्रसँग छलफल गरी निर्यातमा आधारित परियोजनाका लागि पूँजी कोषको निर्माण गर्न बोर्डलाई सुझाव दिए ।

कुल गार्हस्थ उत्पादन र पूँजी निर्माणमा महत्वपूर्ण योगदान गर्ने परियोजनाहरू परिकल्पना गरी लगानीका लागि अग्रसरता लिन उनले बोर्डलाई आग्रह गरे ।

अर्थमन्त्री शर्माले ठूला विदेशी लगानीकर्तालाई बोर्डबाट एकल विन्दु सेवा दिने निर्णय भए पनि कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाए । उनले विदेशी लगाानीकर्ताहरू आफैं परियोजना छनोट गरेर वा नेपालको परियोजनामा लगानी साझेदार भई आउने गरेका कारण सबैलाई समान व्यवहार गरी सहजीकरण गर्नुपर्ने बताए ।

अर्थमनत्री शर्माले परपम्परागत विकासको संस्कृतिलाई बदलेर अगाडि बढ्नुपर्ने धारणा राखे । लगानी बोर्डमा आउने परियोजनालाई अध्ययनका लागि भन्दै लामो समयसम्म फाइल अड्काउने प्रवृत्ति ठीक नभएको उनको भनाइ छ ।

बैठकमा बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले उत्पादनमा आधारित ठूला परियोजना लागि उद्योग लगाउने ठाउँको बारेमा नीतिगत निर्णय गरी विशेष व्यवस्था गर्नुपर्ने बताए ।

बोर्डमा अटोमोबाइल उद्योग स्थापनाका लागि दक्षिण कोरियाली कम्पनी मोट्रेक्सले प्रस्ताव गरे पनि उद्योग स्थापनाका लागि स्थान छनोट गर्न नसकेको बताउँदै उनले विशेष आर्थिक क्षेत्रमा जानलाई निर्यातमा आधारित हुनुपर्ने मापदण्डले असर गरेको उल्लेख गरे ।