काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सैद्धान्तिक र वैचारिक बहसमा सहभागी हुन सुझाव दिएका छन्।
महामन्त्री शर्माले निर्वाचन आयोग मतपत्रमा कस्तो रङ राख्ने भन्ने कुरामा स्वतन्त्र रहेको उल्लेख गर्दै रङको विषयलाई लिएर पूर्व प्रधानमन्त्री जस्तो व्यक्तिले खुद्रा बहस गर्न नमिल्ने तर्क गरे।
बिहीबार सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री शर्माले तथ्य र तर्कमा आधारित विषयमा मात्र राजनीतिक दलहरूले निर्वाचन आयोगले गरेको निर्णयमाथि प्रश्न उठाउन सक्ने भएकाले तार्किक कुरामा मात्रै प्रश्न गरी पदीय जिम्मेवारीको मर्यादा राख्न अध्यक्ष ओलीलाई सुझाव दिएका हुन्।
अध्यक्ष ओलीले केही दिनअघि सार्वजनिक समारोहमा मतपत्रमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णय नमान्ने अभिव्यक्ति दिएको विषयमाथि टिप्पणी गर्दै शर्माले रङबाट नतर्सिन पनि आग्रह गरे। उनले अध्यक्ष ओलीलाई मतपत्रको रङभन्दा पनि आफ्नो ढंग सच्याउन सुझाव दिए।
उनले आफूले सरकारको नेतृत्व गरेका बेला गरेका आश्वासनहरूको समिक्षा गर्न पनि अध्यक्ष ओलीलाई सुझाव दिए।
अध्यक्ष ओलीले नेपाली कांग्रेसले आफ्नो मतचिन्ह हरियो रङको रहेको उल्लेख गर्दै सबैले हरियो रङ देखुन् भन्ने सोचाइबाट मतपत्रमा हरियो रङ राख्ने निर्णय गरेको आरोप लगाएका थिए।