• बैशाख २३ २०८३, बुधबार

पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संसदीय समितिको निर्देशन

फाल्गुन २५ २०७८, बुधबार

काठमाडौँ। पछिल्लो समय अत्यधिक रुपमा बढ्दै गएको पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले निर्देशन दिएको छ ।

समितिको बुधबार बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा छलफल गरेको थियो । समिति सभापति विमलप्रसाद श्रीवास्तवले उपभोक्तालाई मार नपर्ने गरी सर्वसुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराएर मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिइएको बताए ।

नेपाल आयल निगमा उचित माग सम्बोधन गर्न पनि सरकारलाई सचेत गराइएको श्रीवास्तवले जानकारी दिए । ‘उपभोक्तालाई मार नपर्ने गरी सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध होस् । यसको लागि नेपाल आयल निगम पनि धरासायी स्थितिमा पुगेको हुनाले सम्बन्धित निकायलाई आयल निगमको जायज मागहरूको सम्बोधन होस् भन्ने समितिको ठहर रहेको छ,’ उनले भने, ‘उपभोक्ताले सरल र सुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध होस् भनेर समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।’

मूल्य नियन्त्रण गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।