काठमाडौँ। सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले चार दलीय गठबन्धनबारेमा गम्भीरतापूर्वक सोच्नुपर्ने बताएका छन्।
बुधबारबाट काठमाडौँमा सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता खनालले संसदबाट पारित एमसिसीबारे चुनावपछि मात्रै बहस गर्नुपर्ने बताए।
उनलले एमसिसीबारे पार्टीभित्र विवाद गरिरहँदा विभाजनका रेखाहरु कोरिनसक्ने बताउँदै आगामी निर्वाचनपछि मात्रै यसबारे कुरा गर्दा उचित हुने बताए।
नेता खनालले आगामी स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेससहितको गठबन्धनबारे शंकाको वातावरण रहेको पनि बताएका छन्। चुनावमा गठबन्धन गरेर जाने कुरा अझै नटुंगिएको बताउँदै उनले कांग्रेसभित्रै पनि यसबारे दुई फरक मत रहेको बताए।
‘कांग्रेसभित्र महामन्त्री गगनकुमार थापा, र डा. शेखर कोइरालाहरु गठबन्धन गरेर जान नहुने पक्षमा देखियो। उनीहरु गठबन्धन गरेर जाँदा कांग्रेसले ७० सिटमात्रै जित्ने हिसाब गरेर बसेका छन्। एक्लै चुनावमा जाँदा १५५ सिट जित्ने हिसाब उनीहरुको रहेछ’, खनालले भने, ‘कांग्रेसले अनुसन्धान गरेर भनेको हो’, ‘गठबन्धनबारे हामीले पनि विचार गर्नुपर्ने हुन्छ। सोचेर निर्णय लिनु उचित हुन्छ।’