काठमाडौं । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलाले ३३ प्रतिशतमात्रै नभएर ५० प्रतिशत अधिकार पाउनुपर्ने बताएकी छिन् ।
आज मङ्गलबार ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एमाले निकट अखिल नेपाल महिला सङ्घले काठमाण्डाैमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले अब महिलाले ३३ प्रतिशत मात्रै नभएर पुरुष सरह ५० प्रतिशत अधिकार पाउनुपर्ने बताएकी हुन् ।
नेपालको कुल जनसङ्ख्याको आधारभन्दा बढी महिला भएकाले पनि पुरुष सरह ५० प्रतिशत समान अधिकारको अवधारणा बनाउनुपर्ने उल्लेख गर्दै उनले भनिन् , ‘जनसङ्ख्याको आधाभन्दा बढी महिला भएको हिसाबले भन्ने हो भने अब ३३ प्रतिशत होइन ५० प्रतिशत अवधारणा लिएर अगाडि बढ्न सक्नुपर्छ । हिम्मत गर्नुपर्छ । महिलाहरूले पनि आफूलाई सक्षम बनाउँदै जानुपर्छ ।’