• बैशाख २२ २०८३, मंगलवार

जनतामा एमसीसीबारे फैलाइएको भ्रम चिर्न नसके काँग्रेसले आगामी निर्वाचनमा पराजय व्यहोर्छ : गृहमन्त्री खाँण

फाल्गुन २४ २०७८, मंगलवार

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले जनतामा एमसीसीबारे फैलाएको भ्रम चिर्न नसक्ने हो भने काँग्रेसले आगामी निर्वाचनमा पराजय व्यहोर्ने बताएका छन् ।

एमसीसी राष्ट्रको हितमा हुँदाहुँदै पनि यसबारे अनेक भ्रम फिजाइएकाले कार्यकर्ताले यसबारे जनतामाझ प्रष्ट पार्नुपर्ने उनले बताए । “सरकारमा हुँदा होस् वा प्रतिपक्षमा हुँदा होस्, काँग्रेस एमसीसीको पक्षमा उभियो र संसदबाट अनुमोदन गर्न सफल भयो”–काँग्रेस केन्द्रीय सदस्य समेत रहेका गृहमन्त्री खाँणले भने–“एमसीसी अनुमोदन गरेकै कारण निर्वाचनमा हुने क्षतिलाई रोक्नका लागि मतदातामाझ प्रष्ट पार्नु जरुरी छ ।”

नेपाल प्रेस युनियन रुपन्देहीले मंगलबार आयोजना गरेको जीपी कोइराला स्मृती पत्रकारिता पुरस्कार वितरण समारोहलाई संबोधन गर्दै गृहमन्त्री खाणले एमसीसीबारेको भ्रम चिर्न नसके आगामी निर्वाचनमा काँग्रेसको पराजय हुने खतरा रहेको बताए । सञ्चारकर्मीहरुले पनि एमसिसीबारे सत्यतथ्य उजार गर्नुपर्नेमा उनले जोड दिए । उनले सरकारमा रहेका दल र तिनका नेताहरुले नै एमसीसीबारे भ्रम फैलाएको भन्दै संसदले अनुमोदन गरेको व्याख्यात्मक घोषणामा एमसीसीमै भएकै कुरा उल्लेख भएको बताए ।

विद्युत प्रसारण लाईन निर्माण गरी विदेशमा विद्युत निर्यात गरेर मुलुकको व्यापार घाटालाई कम गर्न एमसीसी परियोजना महत्वपूर्ण हुने र यसबाट ठूलो संख्यामा रोजगारी पनि सिर्जना हुने भएकाले यो मुलुकको हितमा रहेको उनले दाबी गरे ।

गृहमन्त्री खाणले आगामी निर्वाचन काँग्रेसले नजित्ने हो भने मुलुक अँध्यारो युगतर्फ प्रवेश गर्ने बताए । “लोकतन्त्रको रक्षा र नागरिक तथा प्रेस स्वतन्त्रताका लागि पनि काँग्रेसको जित आवश्यक छ”–उनले भने ।

उनले राजनीतिको मूलधार बाहिर रहेका शक्तिलाई पनि संविधान स्वीकार गरेर मूलधारमा आउन आग्रह गरे । “हामी त्यस्ता शक्तिहरुसँग पनि सहकार्य गर्न तयार छौं, मूल धारमा नआएका शक्तिलाई पनि अहिले राज्यले सुरक्षाको प्रवन्ध गरिरहेको छ”–गृहमन्त्री खाणको भनाइ छ ।

उनले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुनै हालतमा सरकारले निषेध नगर्ने भन्दै सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनमा कुनै संशोधन आवश्यक भए पनि सरकार त्यसका लागि तयार रहेको बताए ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले काँग्रेसको नेतृत्वमा मात्रै लोकतन्त्र र संविधानको रक्षा हुने दाबी गरे । कार्यक्रममा जीपी कोइराला स्मृती पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय माधव नेपाल र हरिश ढकाललाई पुरस्कृत गरिएको थियो । गृहमन्त्री खाणले नगद २५ हजार राशीको पुरस्कार प्रदान गरेका हुन् ।