काठमाडौं । काठमाडौं उपत्यकामा जब सेन्टरको नाममा ठगी धन्दा चलाएको आरोपमा विभिन्न ठाउँबाट ९ जना पक्राउ परेका छन्।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आइतबार उपत्यकाका विभिन्न ठाउँबाट २ युवतीसहित ९ जनालाई पक्राउ गरेको हो।
उनीहरुले जागिरको अवसर देखाई फारम भर्न लगाउने र सामाजिक सञ्जालदेखि पत्रपत्रिका, पर्चा पम्प्लेटको माध्यमबाट प्रसारप्रसार गरी घरमै बसी रोगजारी गर्न मिल्छ भनि भ्रम छरी फारम भर्न लगाएर ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
पक्राउ पर्नेहरुमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका–६ ठूलापोखरी घर भई भक्तपुर लोकन्थली बस्दै नयाँ बानेश्वरमा सोसियल वेलफेयर फेसिलिटिज म्यानेजमेन्ट सर्भिस प्रालिका सञ्चालक २६ वर्षीय अमर पाण्डे, सोही ठाउँका ३२ वर्षीय तिलकराम पाण्डे छन्।
त्यस्तै लमजुङको दुधपोखरी गाउँपालिका–२ घर भई जरंखु बस्दै बालाजुमा जब प्लेसमेन्ट एण्ड ट्रेनिङ सेन्टर सञ्चालन गर्दै आएका २२ वर्षीय आनन्द मरहठ्ठा, सिरहा घर भई कोटेश्वरमा एनएन मल्टिप्रपोज प्रालि सञ्चालन गर्दै आएका २३ वर्षीय विवेक यादव, ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ घर भई आकाशेपुलमा एबिएस जब एण्ड ट्रेनिङ सेन्टर प्रालि सञ्चालन गर्ने २८ वर्षीय अश्विन राई पक्राउ परेका छन्।
सिन्धुलीको फिक्कल गाउँपालिका–२ घर भई कोटेश्वरमा सिन्धु रोजगारी सेवा सञ्चालन गर्दै आएका २२ वर्षीय घनश्याम पहाडी, रौतहटको चन्द्रपुर नगरपालिका–४ घर भई चाबहिलमा प्राक्षा जब इन्टरनेसनल मल्टिप्रपोज प्रालि सञ्चालन गर्दै आएकी २५ वर्षीया सृजना लामिछाने, मोरङको विराटनगर उपमहानगरपालिका–४ घर भई कोटेश्वरमा क्वीकमान्डु एमपी प्रालि सञ्चालन गर्दै आएकी ४० वर्षीया ज्ञानु न्यौपाने र रौतहटको मौलापुर गाउँपालिका–५ घर भई कोटेश्वरमै अनमोल जब मिल्टपल प्रालि सञ्चालन गर्दै आएका २२ वर्षीय रामवचन यादव छन्।