काठमाडौँ। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसद विघटन गरेर ‘अर्ली इलेक्सन’मा जाँदा उचित हुने बताएका छन्।
आइतवार संसदभवन बाहिर सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद चल्न नदिएर दु:ख दिइरहेको भन्दै ‘अर्ली इलेक्सन’मा जाँदा उचित हुने बताएका हुन्।
‘एमालेले संसद चल्न नदिएर हामीलाई दुःख दिइरहेको छ’, उनले भने, ‘अझै पनि यस्तो अन्त्य नहुने हो भने संसद विघटन गरेर ‘अर्ली इलेक्सन’मा जानुपर्छ।’
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद चल्न नदिएर गन्जागोल बनाएको पनि आरोप लगाएका छन्।
‘ओलीको एमालेले संसद नदिएर गन्जागोल कायम राखिरह्यो। हामीलाई समेत दुःख दिइरहेको छ’, उनले भने, ‘यस्तो अवस्थामा राखिरहनु भन्दा संसद विघटन गरेर ‘अर्ली इलेक्सन’मा जानु राम्रो हुन्छ भन्ने भएको छ। संसद विघटन गरिदिएपछि ओलीको वितण्डा पनि सकिन्छ।’
एमालेले आफूले सिफारिस गरेका १४ सांसदलाई कारवाही नगरी सभामुख अग्निप्रसाद सापकोटाले विभेदकारी भूमिका निर्वाह गरेको भन्दै लगातार रुपमा संसद अवरुद्ध गर्दै आएको छ।