काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावको छानबिनका लागि समिति बनाइएको छ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकले ११ सदस्यीय समिति बनाएको छ। समितिमा प्रमुख प्रतिपक्ष नेकपा एमाले पनि बसेको छ।
एमालेबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्ण भक्त पोखरेल समितिमा छन्।
यस्तै, कांग्रेसबाट मीनबहादुर विश्वकर्मा र रामबहादुर विष्ट, माओवादीबाट यसोदा सुवेदी र रेखा शर्मा समितिमा छन्।
नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोकतान्त्रिक समाजवादी पार्टीबाट एकवाल मियाँ र जनता समाजवादी पार्टीबाट प्रमोद साह छन्।
प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६२ मा अनुसार समिति बनाइएको हो। समितिले काम सुरु गरेको बढीमा ३ महिनाभित्र सिफारिसहितको प्रतिवेदन दिनुपर्नेछ। समितिले महाभियाेग अघि बढाउने नबढाउने सिफारिससहितको प्रतिवेदन बुझाउनेछ।
प्रधानन्यायाधीश राणामाविरुद्ध फागुन १ गते संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरिएको थियो। त्यसपछि निलम्बनमा छन्।