• बैशाख २२ २०८३, मंगलवार

डडेल्धुरा काँग्रेस मिलाउन देउवाद्वारा छलफल शुरु

फाल्गुन २१ २०७८, शनिबार

डडेल्धुरा । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा काँग्रेस नेताहरुबीच देखिएका द्वन्द्व समाधान गरेर एकढिक्का बनाउन छलफल शुरु गरेका छन् ।

एकलौटी रुपमा गृहजिल्ला डडेल्धुराको सातौं जिल्ला अधिवेशन सम्पन्न गराएर नेपाली काँग्रेस डडेल्धुराका तत्कालिन जिल्ला सभापति कर्णबहादुर मल्ललाई राजनीतिबाटै ‘बाईपास’ गराउन खोजेका प्रधानमन्त्री देउवाले आसन्न स्थानीय निर्वाचनलाई लक्षित गरेर गृहजिल्लामा काँग्रेस एकतावद्ध बनाउने भन्दै जिल्लास्तरीय नेताहरुसँग परामर्श थालेका हुन् ।

नेपाली काँग्रेस डडेल्धुराको पाँचौ र छैटौं जिल्ला अधिवेशनबाट निर्वाचित सभापति मल्ललाई महाधिवेशन प्रतिनिधी समेत हुन नसक्नेगरि रोक्ने अभिप्रायले जिल्लाबाट सिफारिस गरेर पठाईएका क्रियासिल सदस्यता केन्द्रबाट फेरबदल गर्न भूमिका निर्वाह गरेका प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाले तत्कालिन जिल्ला कार्यसमितिको वहिष्कारकाबीच एकलौटी रुपमा सातौं जिल्ला अधिवेशन सम्पन्न गराएका थिए ।

तत्कालिन सभापति मल्लसहित उनी पक्षीय नेताहरुले बहिष्कार गरेको सातौं जिल्ला अधिवेशनमार्फत परशुराम नगरपालिकाका प्रमुखसमेत रहेका सुदूरपश्चिम प्रदेशका शिर्षस्थ निर्माण व्यवसायी भिमबहादुर साँउदलाई नेपाली काँग्रेस डडेल्धुराको सभापति बनाउन देउवाले सघाएका थिए । जिल्लास्तरमा क्रियासिल काँग्रेस नेताहरुसँग छलफल शुरु गरे पनि प्रधानमन्त्री देउवाले मल्ललाई एक्ल्याउने सोचमा परिवर्तन गरेका छैनन् ।

‘सबै जिल्लास्तरीय नेता कार्यकर्ताहरुको अभिभावक बन्नुपर्ने बेलामा सभापति देउवाले कसैलाई काखा र कसैलाई पाखा लगाउने रणनीति अवलम्वन गरेकै कारण डडेल्धुरा काँग्रेसमा द्वन्द्व बढेको हो ।’ नेपाली काँग्रेस डडेल्धुराका निवर्तमान उपसभापति करुणाकर भट्टले भने,‘विधि प्रकृया मिचेर केन्द्रबाटै मनोमानी रुपमा क्रियासिल सदस्यता वितरणगर्दै जिल्लाको संस्थापन पक्षलाई बाईपास गरिएको हो ।’

सातौं जिल्ला अधिवेशनका क्रममा नेपाली काँग्रेस डडेल्धुराका तत्कालिन सभापति मल्ल पक्षबाट जिल्ला सभापतिको उम्मेदवार बन्ने तयारीमा रहेका डडेल्धुरा काँग्रेसका बौद्धिक नेता हरिप्रसाद भट्टलाई सतौं जिल्ला अधिवेशनमार्फत एकपक्षीय रुपमा सभापति बनाइएका साँउदसँगै राखेर शुक्रबार प्रधानमन्त्री देउवाले बुढानिलकण्ठस्थित निवासमा छलफल गरेका छन् । यस अघि पनि प्रधानमन्त्री देउवाले जिल्लास्तरीय नेताहरुलाई बोलाउँदै छलफल गर्दै आएका थिए ।

‘हामीले सातौं जिल्ला अधिवेशनका बेला उठाएका कुनै पनि राजनीतिक मुद्दाहरुको सम्बोधन हुने लक्षण देखिएन,’ प्रधानमन्त्री देउवासँग भेटघाट गरेका सातौं जिल्ला अधिवेशनमा सभापतिका आकंक्षीरहेका नेता भट्टले भने,‘क्रियासिल सदस्यतामा भएको फेरबदल र जिल्ला नेतृत्वलाई बाईपास गरेर जिल्ला अधिवेशन सम्पन्न गरेको विषयमा निकास दिनेगरि सभापति देउवाबाट कुनै प्रस्ताव नआएकाले वार्ताको खासै औचित्य देखिएन ।’

उनले सभापति देउवालाई सबै जिल्लास्तरीय नेताहरुले गरेको कामको उचित मुल्यांकन गरेर पार्टी संगठनलाई बैधानिक बाटोबाट एकतावद्ध बनाउन आफुले आग्रह गरेको बताए । ‘तर, पार्टी एकतावद्ध बनाउने बारेमा छलफल भनिए पनि एक पक्षलाई बाईपास गरेर लैजाने परिपाटीले पार्टी एकतावद्ध हुन सक्दैन,’ उनले भने,‘प्रधामन्त्री देउवालाई निरन्तर ३० बर्षसम्म डडेल्धुराबाट जिताउन योगदान पुगाएका कार्यकर्तालाई अपमानकजनक ढंगबाट बाईपास गर्ने रणनीतिका कारण डडेल्धुरा काँग्रेसमा द्वन्द्व उत्पन्न भएको हो ।’

पार्टी एकतावद्ध बनाउनका लागि छैटौ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमितिले अघि सारेका राजनिितक मुद्दाहरु सम्बोधन गरिनुपर्ने आफ्नो अडान कायमै रहेको प्रधानमन्त्री देउवासँगको भेटपछि भट्टले बताए । पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउन नसकुन्जेलसम्म पार्टी एकतावद्ध हुन कठिन हुने उनले जिकिर गरे ।

नेपाली काँग्रेस डडेल्धुराका तत्कालिन सभापति तथा सुदूरपश्चिम प्रदेश सभाका सदस्य मल्ल पक्षीय नेताहरुलाई बिभिन्न आश्वासन दिएर मल्लबाट अलगपार्दै मल्ललाई एक्ल्याउने सभापति देउवाको दाउ रहेको जिल्लास्तरीय नेताहरु बताउछन । एक दशकसम्म नेपाली काँग्रेस डडेल्धुराको नेतृत्व गरेका मल्ललाई एक्ल्याउने देउवाको दाउ बुझेका मल्ल पक्षीय नेता कार्यकर्ताहरुले डडेल्धुरा काँग्रेसलाई एकतावद्ध बनाउन चाहेमा मल्ल नेतृत्वको जिल्ला कार्यसमितिबिरुद्ध पार्टी केन्द्रबाट भएको अन्यायलाई बुझेर सभापति देउवाले न्याय दिलाउनुपर्ने माग अघि सारेका छन् ।
प्रधानमन्त्री देउवाले डडेल्धुरामा आफु निकटस्थ मानिएका जिल्लास्तरीय नेताहरुलाई पनि मल्ललाई एक्ल्याएर मात्रै जिल्लामा पार्टी एकता हुने बताउँदै आएको सम्वद्ध श्रोतहरुले जनाएका छन । पार्टी संगठनमा बलियो प्रभाव भएका मल्ल पक्षीय जिल्लास्तरीय नेता कार्यकर्ताहरु भने सभापति देउवाले अन्यायमा परेका नेता कार्यकर्ताहरुलाई न्यायको अनुभुती हुने किसिमले टिकट वितरण गरिए मात्रै डडेल्धुरामा पार्टी एकतावद्ध हुने बताएका छन् । स्थानीय तह निर्वाचनमा पार्टी एकतावद्ध हुन नसकेमा सातवटै स्थानीय तहमा पराजय भोग्नुपर्ने अवस्था आउनसक्ने भन्दै नेपाली काँग्रेस डडेल्धुराका नेता कार्यकर्ताहरुले चिन्ता ब्यक्तसमेत गरेका छन् ।