काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेसलाई हात्तीको संज्ञा दिंदै हात्तीको ठूलो कानमा चमेरोहरू ओत लाग्न खोजेको टिप्पणी गरेका छन्। शनिबार कांग्रेस निकट निजामती कर्मचारी युनियनको आठौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेस हात्ती भएको र हात्तीको ठूलो कानमा चमेरोहरू ओत लाग्न खोजेको टिप्पणी गरेका हुन्।
‘हात्तीको ठूलो कान देखेर चमेरोहरू ओत लाग्न खोज्दैछन्। चमेरोहरूलाई हात्तीले सहयोग गर्न सक्दैन‚’ उनले थपे‚ ‘त्यसले हात्तीलाई दुर्गन्धित बनाउन सक्छ। हामी लम्किँदा मुसाले बाटो काट्दैमा केही हुँदैन।’
उनले अमेरिकन सहयोग परियोजना एमसिसी पारित गर्न कांग्रेस नेतृत्वको सरकार अघि बढ्दा विरोध गर्ने राजनीतिक दलहरूले विरोध गरे पनि त्यसले कुनै असर नपरेको बताए।
‘कांग्रेस हात्ती हो हात्ती लम्किरहन्छ। हात्ती लम्किँदा कहिलेकाही कुकुरहरू भुक्ने गर्छन्‚’ उनले भने‚ ‘धेरै दिन भएको छैन। कांग्रेसरुपी हात्ती लम्किरह्यो तर, हात्ती लम्किँदै बानेश्वर पुग्यो। बानेश्वर पुग्दै गर्दा केही कुकुर भुके। तर, एमसिसी पास भयो।’