• बैशाख २३ २०८३, बुधबार

भ्रामक र कपोकल्पित समाचार सम्प्रेषणप्रति सेनाको गम्भीर ध्यानाकर्षण

फाल्गुन २० २०७८, शुक्रबार

काठमाडौं । नेपाली सेनाले संस्थाको प्रतिष्ठा, नेतृत्वको निष्ठा र मर्यादामा गम्भीर आघात पुर्‍याउने किसिमले अनलाइन मिडियालगायतका सामाजिक सञ्जालमा हुँदै आएको अनर्गल प्रचारप्रसारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

सेनाले आज साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली सेना जस्तो देश र जनतालाई केन्द्रविन्दुमा राखी संविधान ऐन कानुनको परिधिभित्र बसी कानुन एवम् विधिसम्मत चल्ने अराजनैतिक छवि भएको संस्थाप्रति भएको भ्रमबाट टाढै रहन अपील गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “यस्ता भ्रमबाट टाढा रहन र अरुलाई पनि टाढा राख्न लगाउनुहुन आम जनसमुदायमा नेपाली सेना हार्दिक अपिल गर्दछ।’विगत केही समययता सैनिक मूल नेतृत्व एवम् नेपाली सेनाका गतिविधिसँग सम्बन्धित फरक प्रसँग र अवसरको फोटो तथा भिजुअल क्लिप प्रयोग गरी विभिन्न संवेदनशील विषय नेपाली सेनासँग जोडी आफ्नो निहीत स्वार्थ र नियत पूरा गर्न आम जनमानसमा भ्रम छर्ने उद्देश्यले यस्ता समाचार र सन्देश प्रचार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

विज्ञप्तिमा भनिएकोछ, “विभिन्न सञ्चारमाध्यम विशेष गरी अनलाइन मिडिया तथा सामाजिक सञ्जाल (फेसबुक, टिकटक, आदि) मा नक्कली परिचय बनाइ भ्रामक एवम् कपोकल्पित समाचार एवम् सन्देश सम्प्रेषण भइरहेप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएकोछ।”