काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालै गठबन्धन नटुट्ने बताएका छन्। शुक्रबारदेखि राष्ट्रियसभा गृहमा सुरु भएको आठौँ राष्ट्रिय महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन तत्काल नटुट्नेमा आफु ढुक्क भएको बताए ।
प्रतिनिधिसभाबाट एमसीसी पास भएसँगै गठबन्धनभित्र देखिएको अन्योलता हटेको बताउँदै प्रचण्डले अबचाहिँ गठबन्धन चुनावसम्मै जाने निश्चित भएको बताए । ‘अब चाहिँ म ढुक्क भएको छु उनले भने, एमसीसी पनि पास भयो, तत्काल गठबन्धन पनि टुट्दैन । स्थानिय चुनावसम्म हामी साथ जान्छौं।’
फागुन १५ गते संसदबाट विवादित एमसीसी पास भएसँगै बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले अझै बलियोसाथ अघि बढ्ने निष्कर्ष निकालेको थियो ।
त्यस्तै प्रचण्डले एमालेले चाहेर सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोगबाट हटाउन सक्ने अवस्था नरहेको बताए ।
‘अहिलेकै अवस्थामा सभामुख हट्ने अवस्था छैन । महाभियोग लगाइहाले पनि उहाँकै विषयमा चर्चा गर्ने बेलामा संसदको अध्यक्षता उहाँले गर्नुहुन्न । बाँकी बेलामा संसदको अध्यक्षता गर्न उहाँलाई संविधान र कानुनले कहीँ बन्देज लगाएको छैन’, प्रचण्डले भने, ‘यसकारण सभामुख हट्न सक्ने अवस्था भएन ।’