• बैशाख २२ २०८३, मंगलवार

मतदान गर्ने बेलामा एकपटक गम्भीर भएर सोच्नुस्,विगतलाई समीक्षा गर्नुस्  : महामन्त्री शर्मा

फाल्गुन १९ २०७८, बिहीबार

भक्तपुर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले  आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्ने बेलामा एकपटक गम्भीर भएर  सोच्न आग्रह गरेका छन् ।

मध्यपुरथिमि–४ बालकुमारीमा आज नेपाली काँग्रेस मध्यपुरथिमि नगर समितिले आज आयोजना गरेको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उनले राजनीतिदेखि विरक्तिएर भोट हाल्न जान्न भन्ने मानसिकता नराख्न युवा वर्गलाई आग्रह गरे । ‘म एक जनाले भोट नदिएर के हुन्छ र ? जसलाई भोट दिए पनि यस्तै हो, म भोट दिन जान्न भन्ने सोचाइ पहिलोपटक भोट हाल्न जाने युवा वर्गमा आउन सक्छ’, महामन्त्री शर्माले भने, ‘जस्तोसुकै अवस्था आए पनि मतदान गर्ने अधिकार प्रयोग गर्नुस्, तर मतदान गर्ने बेलामा एकपटक गम्भीर भएर सोच्नुस्, यसअघिको सरकारको समीक्षा गर्नुस्, अहिले काँग्रेस सरकार आएपछिको पनि समीक्षा गर्नुस्, मतदान गर्नुस् ।’

पाँच वर्षका लागि चुनाव जितेको नेकपाले सरकार चलाउँदा केपी शर्मा ओलीले अब ५० वर्ष नेकपाको सरकार भन्ने तर तीन वर्ष पनि सरकार चलाउन नसक्ने भन्दै उनले ओलीले अहिले पनि दादागिरी प्रस्तुत गरेको टिप्पणी गरे ।