बनेपा। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय संसद्बाट एमसिसी अनुमोदन भइसकेको अवस्थामा सबै पार्टीले राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताएका छन् ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा बिहीबार आयोजित नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिको ५०औं बैठकमा उनले अरु पार्टीमा जस्तो कांग्रेसभित्र कसैको फरक मत नरहेको बताए । आम नेपाली जनताको चाहनाअनुसार सबै दलले राष्ट्र र जनतालाई केन्द्रमा राखेर राष्ट्र र जनताको हित हुनेगरी राष्ट्रिय सहमतिको वातावरण बनाएर अगाडि बढ्नुको विकल्प नभएको उनले बताए ।
कांग्रेसले सहमतिमा नै संविधान जारी गरेजस्तै एमसिसीमा पनि विमती हुँदाहुँदै पनि सबैको सहमतिमा संसदबाट अनुमोदन गरेको प्रसंग उल्लेख गरे ।
नेता सिंहले विपक्षी दल नेकपा (एमाले)ले पनि समझदारीका आधारमा जिम्मेवार राजनीति गर्नुपर्ने उल्लेख गरे ।
त्यस्तै उनले निर्वाचनको मिति तोकिसकेका कारण निष्पक्ष र धाँधलीरहित ढंगले निर्वाचन सम्पन्न गर्ने दायित्व सरकारको भएको भन्दै कांग्रेस नेतृत्वको सरकारले यो कार्य सफलतापूर्वक गर्नेमा आफू विश्वस्त रहेको बताए ।