• बैशाख २२ २०८३, मंगलवार

सत्ता गठबन्धन बैठक : संसद् अवरोध अन्त्य गर्न एमालेलाई आग्रह

फाल्गुन १९ २०७८, बिहीबार

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका चार दलले लामो समयसम्म संसदमा अवरोध हुँदा जनतामा वितृष्णा उत्पन्न भएको भन्दै अवरोध अन्त्य गर्न एमालेसँग आग्रह गर्ने निर्णय गरेको हो ।

‘लामो समयदेखि सार्वभौम संसद् चल्न सकेको छैन । संसद अवरुद्ध भएकाले हवाइ सेवा प्राधिकरण जस्ता महत्त्वपूर्ण विधेयकमा संसदमा गम्भीर रूपले छलफल गर्ने अवस्था छैन,’ बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘संसद् यति लामो समय सञ्चालन नहुँदा संसद्प्रति नै जनतामा नकारात्मक धारणा भएकोले प्रमुख प्रतिपक्षी दललाई संसद् सञ्चालन गरेर राष्ट्रका यावत समस्याको विषयमा छलफल गर्ने वातावरण बनाउन आग्रह गर्ने निर्णय गरेका छौं ।’

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्तासमेत रहेका कार्की, कांग्रेस नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी रहेका थिए ।