• बैशाख २२ २०८३, मंगलवार

माओवादी फुटको संघारमा : श्रेष्ठको नेतृत्वमा नयाँ पार्टी बन्ने चर्चा

फाल्गुन १७ २०७८, मंगलवार

काठमडौं । अमेरिकी एमसीसी सम्झौताको व्याख्यात्मक घोषणासँगै संसदबाट पारित भएसँगै माओवादी केन्द्र फुटको संघारमा पुगेको छ । सत्तारूढ माओवादी केन्द्रको विवाद सतहमा आएसँगै नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा नयाँ पार्टी घोषणाको तयारी भएको स्रोतले जनाएको छ ।

आइतबार प्रतिनिधिसभाबाट एमसीसी पारित भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीचको विवाद सतहमा आएको हो ।

अध्यक्ष दाहालले सोमबार खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा नेता श्रेष्ठतर्फ लक्षित गर्दै वामदेव गौतम जसरी पार्टी छाडेर गए पनि आफूले रोक्न नसक्ने टिप्पणी गरेका थिए । एमसीसी संसदबाट पारित भएपछि त्यसलाई लिएर धेरै भावुक नहुन उनले आग्रहसमेत गरेका छन् ।

अध्यक्ष दाहालले भारतसँग भएको महाकाली सन्धिलाई स्मरण गर्दै त्यसबेला एमालेका नेता वामदेव गौतमले जस्तो बाटो रोजेमा रोक्न नसक्ने उल्लेख गरेका हुन् । उनले घुमाउरो भाषामा असन्तुष्टि पार्टी बाहिरै पोखेको भन्दै पार्टी छाडेर गए पनि नरोक्ने बताएका हुन् ।

संसदबाट एमसीसी पारित भएपछि नेता श्रेष्ठले आम देशभक्त नेपाली जनताले आइतबारको दिनलाई ‘कालो दिन’का रूपमा लिने टिप्पणी गरेका थिए । एमसीसीलाई उनले राष्ट्रघाती सम्झौताको संज्ञासमेत दिएका छन् ।

‘अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गराइछाडे’ श्रेष्ठले भनेका छन्, ‘आमदेशभक्त नेपाली जनताले यसलाई कालो दिनका रूपमा लिनेछन् ।’

माओवादी केन्द्रका नेता श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, लिलामणि पोखरेल, गिरिराजमणि पोखरेल, अञ्जना विशंखे, रेखा शर्मा लगायतका नेताहरूले आइतबारको बैठकमा एमसीसी पारित गर्नुहुँदैन भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

दाहालको निर्णयमा असन्तुष्टि पोखेका श्रेष्ठले राष्ट्रिय सार्वभौमिकताको रक्षाका लागि जुट्न पनि भनेका थिए । तर, सोमबारको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले माओवादीका सबै सांसद एक भएर एमसीसी पास गरेको बताएका छन् ।

एमसीसी पास भएपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालमै असन्तुष्टि व्यक्त गरेको भन्दै दाहालले श्रेष्ठको सो कदमप्रति रोष प्रकट गरेका छन् । उनले सन्तुष्टि आफ्नो विचार पार्टी केन्द्रीय समितिमा व्यवस्थित रूपमा राख्न भनेका छन् । आफूले असन्तुष्टि बाहिर नलैजान भने पनि श्रेष्ठले नमानेको पनि दाहालले बताएका छन् ।

‘नारायणकाजीलाई यति भनिदिएपछि, बोलिदिएपछि माओवादीका भएभरका कार्यकर्ता आफैंतिर आउँछ, केन्द्रित हुन्छन् भन्ने परेको होला,’ दाहालले भने, ‘जनता हवार्र मैतिर आउँछन् भन्ने ठानेर उहाँले सार्वजनिक रूपमै बोलिदिनु भएछ ।’

दाहालले एमसीसीको विरोध गरेकै भरमा नेपाल मजदुर किसान पार्टी देशकै ठूलो भइसक्ने भन्दै नारायणकाजीतिर कटाक्ष गरे ।

‘प्रेम सुवालले एमसीसीविरुद्ध मुर्दावाद भनेका थिए । उनकै पछि सारा नेपाल लाग्नुपर्ने नि तर त्यस्तो हुँदैन । एमसीसीको विरोध गरेकै भरमा ठूलो पार्टी हुने भए, भोट आउने भए नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालसँगै सबै लाग्ने थिए । तर, त्यस्तो हुँदैन राजनीतिमा,’ उनले भने ।

अध्यक्ष प्रचण्डको यस्तो अभिव्यक्तिले थप रुष्ट बनेका नेता श्रेष्ठको नेतृत्वमा नयाँ पार्टी गठनको तयारी भएको छ । नयाँ पार्टीको उपाध्यक्षमा देव गुरुङदेखि कृष्णबहादुर महराको चर्चा रहेको छ भने महासचिवमा लिलामणि पोखरेलदेखि लेखनाथ न्यौपानेसम्मको चर्चा रहेको छ ।

परिस्थिति हेरेर जुनसुकै अवस्थामा पनि पार्टी विभाजन गर्ने तयारीसहित उनीहरु मैदानमा होमिएको स्रोतले जनाएको छ ।