• बैशाख २२ २०८३, मंगलवार

अमेरिकाले नेपालको व्याख्या मान्नुपर्छ, नमाने एमसिसी खारेज हुन्छ : प्रचण्ड

फाल्गुन १६ २०७८, सोमबार

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतवार प्रतिनिधिसभाबाट पारित ११ बुँदे व्याख्यालाई अमेरिकाले नमाने एमसिसी सम्झौता खारेज हुने बताएका छन्। सोमबार आफ्नै निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले भने ,‘एमसिसीको ११ बुँदे व्याख्या महाकाली सन्धिको प्रस्तावना जस्तो होइन, यसलाई अमेरिकाले मान्नैपर्छ। यदि नमानेमा एमसिसी सम्झौता नै खारेज हुन्छ।’

उनले एमसिसी अघि बढाउने क्रममा आफूलाई भिलेन जस्तो बनाइएको पनि बताएका छन्।
‘मत भिलेन जस्तो भएछु, डबल डिलर जस्तो भएँ’, उनले भने, ‘मत मेरो चाहना राष्ट्रिय सहमति बनोस् भन्ने थियो। तर एमालेले, केपी ओलीले १४ सांसद हटाउनु, सभामुख हटाउनु भनेर रटान लगाइरह्यो। त्यसकारण राष्ट्रिय सहमति जुट्न सकेन।’

उनले एमसिसीका नाममा गठबन्धन फुटाउने कोसिस भएको पनि बताए। ‘एमसीसीका नाममा गठबन्धन फुटाउन खोजियो। संघदेखि प्रदेशसम्मका सरकार फेरबदलका कुरा पनि आए’ ‘फेरि पुरानै अवस्था दोहोरिन नदिन, प्रतिगमन आउन नदिन हामीले एमसिसी पास गरेका हौँ। भएभरका उपलब्धि उल्ट्याउने खेल भएपछि यो कदम चाल्नुपरेको हो।’

उनले एमसिसीको ११ बुँदे व्याख्या महाकाली सन्धिको प्रस्तावना जस्तो नभएको र यसले कानुनी मान्यता पनि बताए। । ‘यसले कानुनी मान्यता पाउँछ। यो महाकाली सन्धिको प्रस्तावना जस्तो होइन’, उनले भने, ‘हाम्रो व्याख्याले कानुनी मान्यता पाउँछ। अन्तर्राष्ट्रिय सन्धिअनुसारको मान्यता पाउने कुरा भएको छ। अमेरिकी दूतावास पनि यसमा सकारात्मक छ।’