बनेपा। काभ्रेपलाञ्चोकको बनेपा बजार नजिकै पुलबजारमा सोमवार बिहानै अरनिको राजमार्गमा राखिएको शंकास्पद वस्तु सेनाले निष्क्रिय पारेसँगै अवरुद्ध यातायात चलेको छ।
आज गरिएको नेपाल बन्दको क्रममा बिहान बनेपा पुलबजारमा शंकास्पद बस्तु राखेर सडकमा यातायात अवरुद्ध गरिएको थियो। शंकास्पद वस्तु कालिजंग गण धुलिखेलका नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेसँगै साढे ९ बजेदेखि यातायात चलेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले सो शङ्कास्पद वस्तु राखेको व्यक्ति नियन्त्रणमा लिइसकेको बताए।
अनुसन्धानको क्रममा शंकास्पद बस्तु राखेर भागेको व्यक्ति महाभारत गाउँपालिका–६ स्थित लामाटोलका युगान्त थिङ र विवेक थिङलाई नियन्त्रणमा लिइएको छ। बिहान राजमार्गमा शंकास्पद वस्तु राखेर भागेको अवस्थामा सिसिटिभिको फुटेजको सहायताले उनीहरुले प्रयोग गरेको बागमती प्रदेश ०२–०२७ प ८७७४ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको प्रहरी प्रमुख जोशीले बताए।