• बैशाख २२ २०८३, मंगलवार

कम्युनिष्टरुले चीनको इशारामा एमसिसीको विरोध गरे : पौडेल

फाल्गुन १४ २०७८, शनिबार

काठमाडौँ। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विगतमा सबै कम्युनिष्ट नेता एमसिसीका पक्षमा भएपनि अहिले चीनको इशारामा त्यसको विपक्षमा उभिएको आरोप लगाएका छन् । तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा निर्माण गरिएको सहिद विक्रम परियारको अर्धकदको शालिक आज अनावरण गर्दै उनले एमसिसीको विरोध गर्न नहुने बताए ।उनले एमसीसी नेपालको हितमा रहेको र विद्युत् शक्ति बेचेर नेपाललाई धनी बनाउन अमेरिकाले चाहेको समेत बताए ।

उनले सहिदको योगदानलाई भुल्न नहुनेमा जोड दिए । नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएकाले सहिदलाई सदैव सम्मान गर्नुपर्ने बताए । स्व.विक्रम परियारको योगदानलाई चिरस्थायी बनाउनुपर्नेमा जोड दिँदै नेता पौडेलले भने, ‘सहिदको परिवारलाई काँग्रेसले सँधै सम्मान गर्छ ।’

सोही दलका केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीले सहिदको उचित सम्मान गर्न नसकेको बताए । उनले काँग्रेसलाई सङ्गठित र व्यवस्थित पार्टी बनाउनुपर्नेमा जोड दिँदै त्यसो भएमात्रै सबै चुनाव काँग्रेसले जित्ने बताए ।