• बैशाख २२ २०८३, मंगलवार

प्रधानमन्त्रीले ‘ब्ल्यांक चेक’ माग्नु भएको छ, तर एमालेले दिँदैन : योगेश भट्टराई

फाल्गुन १२ २०७८, बिहीबार

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले गठबन्धनमा असफल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग ब्ल्यांक चेक मागिरहेको बताएका छन् ।

बिहीबार संसद बैठक स्थगित भएपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिंदै उनले प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेबीच निरन्तर सम्बाद चलिरहे पनि निष्कर्षमा नपुगेको बताए। उनले एमालेका मागहरु यथावत रहेको भन्दै माग पूरा नभए सहयोग गर्न नसक्ने स्पष्ट परे।

‘एमाले विपक्षी दल हो, हाम्रो आफ्नै मागहरू छन्, हाम्रा माग पूरा भए हामी सहयोग गर्न सक्छौँ, भट्टराईले भने, ‘प्रधानमन्त्रीले ब्ल्यांक चेक माग्नु भएको छ, तर एमालेले दिँदैन ।’

उनले अहिले देखिएको गठबन्धनको असफलताले मुलुकलाई अन्तर्राष्ट्रियरुपमा बेइज्जत गराएको बताए । ‘गुटमा संकट आए पार्टीमा थोपर्ने, पार्टीमा संकट आए गठबन्धनमा थोपर्ने र गठबन्धनको संकटलाई राष्ट्रिय संकट ठान्ने काम गरिएको छ, तर वास्तवमा यो गठबन्धनको सर्वथा असफलता हो,’ भट्टराईले भने, ‘यसले मुलुकलाई अन्तर्राष्ट्रिय रुपमा बेइज्जत गरेको छ । यसको सबै जिम्मा गठबन्धनले लिनुपर्छ ।’

उनले सत्ता गठबन्धन नभत्किएसम्म मुलुकले निकास नपाउने समेत बताए ।  ‘यो गठबन्धन रहेसम्म मुलुक अनिणर्यको बन्दी भइरहन्छ, जति छिटो गठबन्धन भत्किन्छ, त्यति छिटो यो मुलुकले निकास पाउँछ, तसर्थ गठबन्धन भत्किनु पर्छ,’ उनले भने ।