• बैशाख २२ २०८३, मंगलवार

एमसिसी सम्झौता जनता समक्ष लैजाने कांग्रेस बागमती प्रदेशको निर्णय

फाल्गुन १० २०७८, मंगलवार

नेपाली कांग्रेस बागमती प्रदेशले एमसिसीलाई केन्द्रले उठाएको विषयवस्तु समावेश गरी बुझ्ने सरल र स्पष्ट भाषामा जनतासमक्ष लैजाने निर्णय गरेको छ ।
सिन्धुपाल्चोकको सुकुटेमा सोमबार सम्पन्न भएको कांग्रेस बागमती प्रदेशको दोस्रो पूर्ण बैठकले एमसिसीबारे विषयवस्तु तयार गरी, भ्रमलाई चिर्दै जिल्लामार्फत स्थानीय तहमा पठाइ जनतालाई बुझाउने निर्णय गरेको हो ।

त्यस्तै आसन्न स्थानीय तहको निर्वाचनमा अघिल्लो निर्वाचनमा भएको मत सङ्ख्यासहितको तथ्याङ्क सङ्कलन गरी आगामी दिनमा खेल्नुपर्ने भूमिकासहित प्रदेशले जिल्ला पार्टीमा १५ दिनभित्र पठाउने र जिल्लामार्फत स्थानीय तहमा पठाउने निर्णय गरेको सहमहामन्त्री हरिशरण श्रेष्ठले जानकारी दिए ।

बैठकले जगदिशनरसिं केसी, लामा कर्पु तामाङ, बलबहादुर दमाइँ, दीर्घमान श्रेष्ठ, दीपेन्द्र आचार्य, कल्पना खड्का र मसिना खड्का भण्डारीलाई कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेको छ । बैठकले प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य र विभिन्न समिति र विभागका सदस्यको मासिक लेवीसमेत तोकेको छ भने कांग्रेस बागमती प्रदेश संसदीय दललाई प्रदेशसभा सदस्यबाट पार्टी केन्द्रमा बुझाउँदै आएको मासिक लेवी प्रदेश कार्यसमितिलाई बुझाउन पत्राचार गर्ने निर्णय भएको सहमहामन्त्री श्रेष्ठले जानकारी दिए ।