• बैशाख २१ २०८३, सोमबार

प्रधानमन्त्रीले एमसिसी र गठबन्धनमध्ये एउटा रोज्नुपर्छ : शशांक कोइराला

फाल्गुन ६ २०७८, शुक्रबार

काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी वा सत्ता गठबन्धनमध्ये एक रोज्नुपर्ने बेला आएको बताएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकपछि संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै सांसद कोइरालाले एमसिसी पास भए गठबन्धन टुट्नेमा दुई मत नरहेको बताए।

‘शेरबहादुरजीको अघि दुई उपाय छन्। एमसीसी पास गराउने हो कि सत्ता नबिग्रियोस् भनेर गठबन्धन जोगाउने हो। यो अप्सन उहाँले नै रोज्नुपर्ने हो। उहाँले कुन रोज्नुहुन्छ।’ उनले भने, ‘एमसिसी पारित गर्ने हो भने गठबन्धन टुट्न सक्ने देख्छु म। गठबन्धनलाई राख्ने हो भने एमसिसी छोड्नुपर्छ। दुईमध्ये एउटा मात्रै हुनसक्छ भन्ने मलाई लागेको छ। एमसिसी पारित गरौँ भन्ने मेरो सल्लाह हो। किनभने ५ सय मिलियन डलर धेरै हो।’

उनले अहिले एमसिसी लागू भएका ९ मुलुकमा कुनै अमेरिकी सेना नगएको भन्दै यहाँ अमेरिकी सेना आउने कुरा पनि हल्ला मात्रै भएको बताए।

ट्रान्समिसन लाइनदेखि बाटोसम्मको ठूलो अनुदान हतपती कसैले नदिने भन्दै यसको पछि अमेरिकाको कुनै स्वार्थ नभएको उनको भनाइ छ।