काठमाडौँ । नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको महानगरीय अपराध महासाखाबाट परिचालन भएको प्रहरीको समूहले त्यस्तो कारोबार गर्ने तीनजनालाई बुधबार काठमाडौँको मिनभवनबाट पक्राउ गरिएको महाशाखाले बताएको छ ।
पक्राउ पर्नेहरुमा राजन भट्टराई, विशाल श्रेष्ठ र दिपेनराज श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका उनीहरुलाई बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन २०७३ अनुसार आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको बताइएको छ । सुराकीको आधारमा महाशाखाको विशेष समूहले उनीहरुलाई पक्राउ गरेको बताइएको छ ।
पक्राउ परेका पर्वत फलेबास नगरपालिका ११ कर्नास स्थायी ठेगाना भइ कास्की पोखरा बस्ने वर्ष २१ का राजन भट्टराई, सुनसरी इटहरी उपमहानगरपालिका ४ इटहरी स्थायी घर भएका २५ वर्षका विशाल श्रेष्ठ र काठमाडौँ महानगरपालिका ११ थापाथलीका २७ वर्षका दिपेनराज श्रेष्ठमध्ये राजन भट्टराईले हालसम्म ९७५ जना ब्यक्तिहरुसँग १९२६ पटक कारोबार गरेको, मंसिरदेखि पुससम्म लगभग रु.२६,००,०० कारोबार गरेको र अन्य दुई व्यक्तिहरुले समेत कारोबार गरेको देखिन आएको प्रहरीले दाबि गरेको छ ।
साथै नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गर्ने गराउने कार्य नेपालको कानुन विपरित रहेको र यस्तो कार्य गर्ने गराउने सबैलाई कानून बमोजिम सजाय हुने भएकोले यस्तो कार्य नगर्न, नगराउन हुन बनेर विज्ञप्ती मार्फत् प्रहरीले सबैमा जानकारी गराएको छ ।