काठमाडौँ । नेपाल राष्ट्रिय जातीय संग्रहालयको तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई एक ज्ञापन पत्र बुझाइएको छ । संग्रहालयको तर्फबाट एक प्रतिनिधि मण्डल मन्त्रालय पुगी मन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
कीर्तिपुरको चम्पादेवीमा जातीय संग्रालयलाई २०५४ सालमा तत्कालिन श्री ५ को सरकारले २ सय रोपनी जग्गा सरकारकै स्वामित्वमा राखेर २० वर्ष भोग गर्न दिएको थियो । सो जग्गाको भोगाधिकार प्रक्रियाका कारण १३ वर्षपछि २०६७ सालमा मात्रै मालपोत कार्यालय कलंकीबाट संग्रहालयको नाममा भोगाधिकार प्राप्त भएको थियो ।
संग्रहालयले आफूले सो २ सय रोपनी जग्गा भोगाधिकार पाएको ११ वर्ष मात्र भएको र अझैं ९ वर्ष भोगाधिकार बाँकी रहेको भएपनि २०७७ भदौ २१ गते मन्त्रालयबाट सचिव स्तरीय निर्णय गरी जग्गा फिर्ता गर्न लागेको भन्दै सो नगर्न भनेर मन्त्रीलाई ज्ञापन पत्र बुझाएको बताएको छ ।

सो जग्गामा नेपाल राष्ट्रिय जातिय संग्रहालय निर्माण गरी नेपालमा बसोबास गर्ने सबै जात जातिको परम्परागत घर, उनीहरुको रहन सहन, रितिरिवाज र परम्परा झल्कने गरी सांस्कृतिक सम्पदाहरुको संरक्षण, सम्बर्द्धन र विकास गर्ने उद्देश्यले एउटा खुला संग्रालय निर्माण गर्ने कार्यसमेत् सुरु भएको भन्दै मन्त्रालयको सचिव स्तरीय रुपमा गरेको सो जग्गा फिर्ताको निर्णय सच्याई नेपालका सबै जात जातिहरुको संस्कृति झल्कने राष्ट्रिय संग्रालय निर्माण गर्न थप समय सीमाका लागि अनुरोध गर्दै मन्त्रीलाई मागपत्र बुझाइएको नेपाल राष्ट्रिय जातिय संग्रहालयको भनाइ छ ।
मन्त्रीलाई ज्ञापन पत्र बुझाउन पूर्वसभासद दालकुमारी सुनुवारको संयोजकत्वका सिंहदरवार पुगेको प्रनितिधि मण्डलमा संग्रहालयका अध्यक्ष डा. धनबहादुर कुँवर, महासचिव कुमार ब्लोन,उपाध्यक्ष कृष्ण कुमारी लिम्बु, सहसंयोजक गोबिन्द लिम्बु, किरात राई यायोक्खाका प्रतिनिधि राजकुमार राई, सुनुवार सेवा समितिका प्रतिनिधि रणवीर सुनुवार, किरात याक्थुङ्ग चुम्लुङका प्रतिनिधि डा.कमल तिगेला, तमू बौद्ध सेवा समितिका प्रतिनिधि मणिराज गुरुङ, नेपाल तामाङ घेदुङका प्रतिनिधि सीता लामा, अठार मगरात मगर प्रतिष्ठानका प्रतिनिधि जीवन बुढामगर र थकाली महिला परिवारका प्रतिनिधि सुशीलकुमार भट्टचन लगायतका प्रतिनिधिहरु रहेका थिए ।
हतार हतारमा ज्ञापनपत्र बुझ्दै ‘यस विषयलाई गम्भीर रुपमा लिने’ मन्त्रीले बताएको ज्ञापनपत्र बुझाउने समूहको नेतृत्व गरेकी पूर्वसभासद दालकुमारी सुनुवारले जानकारी दिइन् ।