• जेष्ठ १ २०८३, शुक्रबार

रोल्पाली सहिद कुमारी बुढाको २५औं स्मृति दिवस काठमाडौंमा मनाइयो

मंसिर १ २०७८, बुधबार

काठमाडौं । माओवादी जनयुद्धमा तत्कालीन राज्य सत्ताले गिरफ्तार गरी हत्या गरेकी रोल्पाकी सहिद कुमारी बुढाको काठमाडौंमा २५औं स्मृति दिवस मनाइएको छ । २०५४ सालमा उनलाई प्रहरीले उनको घरमै गएर हत्या गरेको थियो ।

आज काठमाडौंको रत्नराज्य क्याम्पसमा भएको उनको स्मृति दिवसमा प्रमुख अतिथिको तर्फबाट बोल्दै नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले जुन सर्त र उद्धेश्यका लागि जनयुद्धमा मानिसहरु घाइते हुन, बेपत्ता हुन र सहिद हुन पनि राजि भए ती सर्त र उद्धेश्यहरु अहिलेसम्म पुरा नभएको बताए ।

सहिदको बलिदानीमा बगेको रगतको आहालबाट केही धोकेबाज नेताहरु भागेर पुरानो सत्तामा गएका कारण क्रान्ति पुरा नभएको भए पनि आफ्नो पार्टीले जनयुद्धको सो उद्धेश्य पूरा गरेरै छाड्ने प्रतिवद्धता उनले जनाए । कम्युनिस्ट आन्दोलनको पुरानो नेतृत्वबाट नयाँ समाज र व्यवस्था निर्माण हुन नसक्ने भन्दै उनले नेपालमा विकास गर्नको लागि नयाँ विचार, नयाँ व्यवस्था र नेतृत्व पनि नयाँ नै चाहिने दाबी गरे ।

नयाँ व्यवस्था निर्माणका लागि सहिदका सपना साकार पार्नु पर्ने बताउँदै उनले भने,‘दलाल पूँजीवादको अन्त्य गरेर वैज्ञानिक समाजवादी व्यवस्था स्थापना भएपछि मात्रै सहिदका सपना लक्ष्य पूरा भएर देश र उत्पीडत जनताको विकास हुनेछ ।’

कार्यक्रममा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले यो राजनैतिक व्यवस्थाको संसद, कार्यपालिकाको रुपमा रहेको सरकार र न्यायपालिका सबै असफल भएकोले सबै रुपमा यो व्यवस्था सकिएको बताए । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य सावित्रा दुरा ‘आस्था’ले नेपालका कुनैपनि आन्दोलन र युद्धहरुमा सहभागी महिलाले पुरुषको भन्दा बढि यातना झेल्नुपरेको धारणा व्यक्त गरिन् ।

कार्यक्रममा बोल्दै जनक्रान्तिका महान सहिद परिवार संगठनका अध्यक्ष खुमा सुवेदीले सहिद कुमारी बुढाको बारेमा चर्चा गर्दै सहिदहरु भौतिक रुपपा धर्तीमा नभएपनि जनताको नजरमा उनीहरु कहिल्यै नमर्ने धारणा व्यक्त गरिन् । कार्यक्रममा मानव अधिकारकर्मी सरला रेग्मीले सहिद कुमारी बुढाको बलिदानीले महान जनयुद्धले प्रेरणा लिएर अगाडी बढेको धारणा व्यक्त गरिन् ।

कार्यक्रमको सभाध्यक्षको तर्फबाट बोल्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष बन्धु चन्दले आधुनिक नेपालको क्रान्ति र आन्दोलनहरुमा रगत बगाएर सहिद भएका २५ सय महिलाहरुमध्ये कुमारी बुढाको बलिदानी बढि प्रेरणादायी भएको बताइन् ।

को हुन् कुमारी बुढा ?
कुमारी बुढा जनयुद्धकी सहिद हुन् । प्रहरीद्धारा घरमै गई हत्या गरिएकी बुढा रोल्पा जिल्लाको तत्कालिन मिरुल गाविसकी बासिन्दा हुन् । हत्या हुने समयमा उनी अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मिरुल इकाईकी अध्यक्ष थिइन् । वि.सं २०५४ साल मंसिर १ गते तत्कालिन रानागाउँ प्रहरी चौकीबाट गाउँमा पसेको प्रहरीले माओवादी कार्यकर्ता रहेका उनका बुवा बरदान बुढालाई रुखमा बाँधेका थिए । कुमारी बुढालाई उनकै बाबुका अगाडि प्रहरीले सामूहिक रुपमा बलात्कार गरेका थिए भने उनको ज्युँदै आँखा झिकी दिएका थिए । छ्टपटाइरहेकी उनको शरीरमा प्रहरीले मट्टीतेल छर्केर आगो लगाएर बाबुछोरीको संगै हत्या गरेको थियो । उनका दाजु धात रोका पनि जनयुद्धमा जनमुक्ति सेनामा रहदा दाङ्गको चिराघाट प्रहरी चौकि कारवाहीमा सहिद भएका थिए।

उनले सहादत प्राप्त गरेको दिनलाई सम्झंदै जनयुद्धमा सहभागी विभिन्न संघ, संगठनहरुले उनको सम्झनामा विभिन्न कार्यक्रम गर्दै आएका छन् । उनको हत्या भएको २५औं वर्षको स्मृतिमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले यस वर्षपनि काठमाडौँमा स्मृति दिवस मनाएको हो ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य प्रज्वलन, बुुद्धिजीवी संगठनका केन्द्रीय उपाध्यक्ष देवकला शर्मा, जनपत्रकार संगठनका संयोजक शेरबहादुर विक, युवा संगठन नेपालका महासचिव सावित्रा अधिकारी ‘विदुषी’, अखिल नेपाल लेखक संघका केन्द्रिय अध्यक्ष शोभा दुलाल लगायत अतिथिहरु उपस्थित रहेको सो कार्यक्रमलाई संघकी महासचिव राजकुमारी शाहीले संचालन गरेकी थिइन् ।