• कार्तिक ११ २०८३, मंगलवार

माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष दिन ओली तयार

श्रावण ६ २०७८, बुधबार

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहदा समेत एकतामा इच्छा नदेखाएको र अनेक बहाना खोजेको बताएका छन्।

बुधबार केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले माधव नेपालले दोस्रो अध्यक्ष मागेको र अध्यक्ष दिन तयार छु भन्दा पनि नमानेको बताएका हुन् ।

‘माधव नेपालले मिल्ने हो भने दोस्रो अध्यक्ष मागे। मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु,’ उनले भने, ‘मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन, अनेक बहाना खोजिएको छ।’

त्यसपछि पनि केन्द्रीय कमिटीमा बहुमत चाहियो भनिरहेको ओलीले बताए।

‘किन? हामीलाई पार्टीबाट निकाल्न? ढुक्क हुनुस् कमरेडहरू, त्यसो हुन दिइने छैन। किनकि, यस्तो अभ्यास उनीहरूले पहिले पनि गरेका छन्,’ ओलीले भने, ‘संसदमा आफ्नै पार्टीको सरकारका विरूद्धमा मन हालियो। यो अनैतिक, अराजनीतिक र आपराधिक कार्य हो। तर पनि मैले फिँजमा भए पनि केही घिउ लागिहाल्छ कि भनेर मही मथेको मथै छु। म थाकेको छैन। एकताका लागि कुनै कञ्जुस्याइँ गरिएको छैन, गरिने छैन।’

उनले पार्टी एकताका लागि हदैसम्म लचिलो भएको र १० बुँदे सहमति कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताए। एकता भए पार्टीका सबै संरचनाहरू २०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील रहने ओलीले बताए।