काठमाडौँ । एमालेका जनवर्गीय संगठनका कार्यकर्ताले प्रधानमन्त्री केपी ओलीका विरुद्ध अभिव्यक्ति दिएका नेपाली काँग्रेसका बागमती प्रदेश सदस्य नरोत्तम वैद्यलाई तत्काल गिरफ्तार गर्न माग गरेका छन् ।
उनीहरुले गृहमन्त्री खगराज अधिकारीलाई भेटी प्रदेश सांसद वैद्यको अभिव्यक्तिले फौजदारी कानुन समेत आकर्षित हुने भन्दै उनलाई अबिलम्ब पक्राउ गरि कारवाही गर्न उनीहरुले माग गरेका हुन् ।
अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल खेलकुद महासंघ, राष्ट्रिय युवा संघ, मुस्लिम इत्तेहाद संगठन, नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ, पेशागत महासंघ र नेपाल ट्रेड युनियन महासंघ ‘जिफन्ट’ लगायतका प्रतिनिधिले गृहमन्त्री अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
विज्ञप्तिमा काँग्रेस हत्या हिंसामा विश्वास नगर्ने पार्टी हो भने संसदीय मूल्य मान्यता र संसदको गरिमा कायम राख्नसांसद वैद्यलाई अबिलम्ब सांसद पदबाट हटाउन माग गर्दछौं ।’ उनीहरुले गृहमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।
गत शुक्रबार बागमती प्रदेश सभामा काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री विरुद्ध हिंसात्मक अभिव्यक्ति दिएका थिए । आफ्नो अभिव्यक्तिको चौतर्फी विरोध भएपछि उनले प्रदेश सभामा माफी मागेका थिए र आफ्नो अभिव्यक्ति फिर्ता लिएका थिए ।
