हेमन्तप्रकाश वली जेष्ठ, ३० दाङ ।
अखिल (क्रान्तिकारी) जिल्ला समिति दाङले विभिन्न मागहरु राख्दै जिल्लाका विभिन्न निकायमा ज्ञापन पत्र पेश गरेको छ । जिल्ला शिक्षा समन्वय इकाई र दाङका १० वटा स्थानीय पालिका मातहतमा रहेका शिक्षा युवा तथा खेलकुद विभागका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाइएको छ ।
ज्ञापन पत्रमा कोभिड–१९ को खोप विद्यार्थी र शिक्षकलाई पहिलो प्राथमिकतामा राखी भौतिक रुपमा पठनपाठन सुरु गर्नु पर्ने, कोभिडको संक्रमणबाट ज्यान गुमाउने शिक्षक विद्यार्थीहरुका घरपरिवारलाई राहतको व्यवस्था गर्नुपर्ने र संक्रमण भएका शिक्षक विद्यार्थीको निशुल्क उपचार गर्नु पर्ने, बन्दाबन्दीलाई मध्यनजर गर्दै शैक्षिक सत्रको सुरुमै विद्यार्थीले पाठ्यपुस्तक पाउने व्यवस्थाको पूर्ण ग्यारेन्टी गर्नु पर्ने, मनोमानी ढङ्गले अनावश्यक शिर्षकमा संस्थागत तथा सामुदायिक विद्यालयहरुले अभिभावक र विद्यार्थीको ढाड सेक्नेगरी लिएको शुल्क नियन्त्रण गरि फिर्ता गर्नु पर्ने, शिक्षक कर्मचारीलाई पारिश्रमिक नदिने विद्यालयको छानबिनगरी कारबाही गर्नु पर्ने, अनुमति नलिइ सञ्चालित र न्यूनतम मापदण्ड नपुगेका निजि शैक्षिक संस्थालाई कारबाहीको दायरामा ल्याउनु पर्ने, सरकारी कर्मचारी, शिक्षक तथा वहालवाला वा पूर्व सांसद मन्त्री, जनप्रतिनिधि र अन्य सरकारी कर्मचारीका छोराछोरीलाई अनिवार्य सरकारी सामुदायिक विद्यालयमा पढ्नु पर्ने बाध्यात्मक व्यवस्थागरी यहि शैक्षिक सत्रबाट लागू गर्नु पर्ने, राज्यद्वारा घोषणा भएको वैकल्पिक शिक्षण पद्धति (अनलाइन सिकाइ कक्षा)मा भएका विकृति नियन्त्रणगरी अनलाईन कक्षा विद्यार्थीको पहुँचमा पुयार्उन प्राविधिक सामाग्रीको उचित र निशुल्क व्यवस्था गर्नु पर्ने लगायतका १८ बुँदे मागहरु राख्दै ज्ञापनपत्र पेश गरिएको सो संगठनका अध्यक्ष अमर खड्काद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।