सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राउटे वस्तीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘प्रिफ्याब हाउस’ बनाइदिने घोषणा गरेका छन् ।
यौन दुर्व्यवहारमा परेका दुई राउटे युवतीसँगै भेटघाटका लागि आएका अन्य राउटे युवतीहरुसंग शुक्रबार वीरेन्द्रनगरस्थित आफ्नै कार्यालयमा बोलाएर मुख्यमन्त्री शाहीले स्वागतका साथ भलाकुसारी गरेका हुन् ।
कुराकानीका क्रममा मुख्यमन्त्री शाहीले राउटे समुदायमा उच्च गुणस्तरयुक्त ‘प्रिफ्याब हाउस’ बनाइदिने घोषणा गरेका छन् । मुख्यमन्त्री शाहीसँग दुई युवतीसँगै भेटघाटका लागि आएका राउटे युवतीहरुले प्रदेश सरकारले घोषणा गरेको मासिक दुई हजार भत्ता नपाएकोमा गुनासो राखेका थिए ।
मुख्यमन्त्री शाहीले भत्ता उपलब्ध गराउने बाचा गरेका छन् भने युवतीहरुले चाँडो मिलाइदिन आग्रह गरेका छन् । भेटघाटका क्रममा गाँस, बाँसका सन्दर्भमा कुरा भए पछि केही समयअघि ती दुई राउटे युवतीमाथि भएको यौन दुर्व्यवहार घटनाको विषयमा भने कुरा भएन ।
भेटघाटमा थुप्रै मान्छेहरुको उपस्थितिका कारण दुई युवतीमाथि थप आँच आउने देखेर मुख्यमन्त्री शाहीले त्यस विषयमा कुराकानी नगरेको बुझिएको छ ।
कुराकानीको अन्त्यतिर मुख्यमन्त्री शाहीले राउटे नीति अघि बढाउन, राउटे बस्तीमा खाद्यान्नलगायतको बन्दोबस्त गर्न सामाजिक विकासमन्त्री यज्ञबहादुर विसीको टोलीलाई निर्देशन दिएका छन्।