• बैशाख २० २०८३, आईतवार

श्रीमतीलाई तन्नामा पोको पारेर मर्स्याङ्दी नदीमा फालेको आरोपमा श्रीमान पक्राउ

जेष्ठ २८ २०७८, शुक्रबार

गोरखा । श्रीमतीलाई तन्नामा पोको पारेर मर्स्याङ्दी नदीमा फालेको आरोपमा एक षुरुषलाई प्रहरीले आज पक्राउ गरेको छ ।

गोरखाको पालुङाटार नगरपालिका-७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामीलाई आफ्नै श्रीमती मारेर मर्स्याङ्दी नदीमा फालेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

कामीले आज बिहान २४ वर्षीया श्रीमती सम्झना रेग्मीलाई गोरखा र तनहुँ जोड्ने नयाँपुलस्थित झोलुङ्गे पुलबाट फालेको देखेपछि स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए ।

घटनालगत्तै पक्राउ परेका अभियुक्त कामीले श्रीमतीको गएराति नै मृत्यु भएकाले दाहसंस्कार गर्न एक्लैले सम्भव नभएपछि तन्नामा पोको पारी शव नदीमा फालिदिएको स्वीकार गरेको प्रनाउ दाहालको भनाइ छ ।

नदीमा फालिएको भनिएको शवको खोजी भइरहेको भए पनि अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।

कामीलाई अस्थायी प्रहरी पोष्ट बिरुवाटार र इलाका प्रहरी कार्यालय ठाँटी पोखरीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका कामी बेवारिसे अवस्थामा नयाँपुलमुनि ओडारमा श्रीमती सम्झनासँग बस्दै आएको खुलेको छ । उनीहरुले ६ महिनाअघि मात्र बिहे गरेका थिए । घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ ।