• बैशाख २० २०८३, आईतवार

संसद पुनस्थापना हुन्छ, हामी सरकार बनाउँछौं : दाहाल

जेष्ठ २५ २०७८, मंगलवार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विघटित प्रतिनिधिसभा पुनस्र्थापना हुने विश्वास व्यक्त गरेका छन् ।तामाङ राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अहिले नांगो रुपमा संसद विघटन गरिएकाले पुनस्र्थापना हुने बताए ।

‘अदालतले पनि अन्ततः हेर्ने भनेको संविधान हेर्ने हो ।’ प्रचण्डले भने, ‘ओलीले ५ पुसमा पनि संसद विघटन गरे, हामीले लडेर संसद फिर्ता ल्यायौँ, त्यतिबेला पनि मैले हामी जिउँदै छौँ भनेको थिएँ, अहिले त झन् नांगो रुपमा संसद विघटन गरिएको छ, संसद पुनस्र्थापना हुन्छ ।’
पहिलो चोटी गरिएको संसद विघटनको बेला कांग्रेस पनि ढुलमुले चरित्रमा रहेको उल्लेख गर्दै प्रचण्डले भने, ‘पहिलोपटक चाहिँ नेपाली कांग्रेस पनि के हो के हो भन्नेमा थिएँ, अहिले त कांग्रेस पनि यो प्रतिगमन नै हो भन्नेमा छन् । जसपाका उपेन्द्रजीहरु पनि साथमा छन् । माधवजीहरु पनि सँगै छौँ, जनमोर्चा पनि साथमा छौँ ।’

अदालतबाट संसद पुनस्र्थापना हुने र त्यसपछि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पक्षधरताको सरकार बन्ने विश्वास समेत प्रचण्डले व्यक्त गरे ।

उनले भने, ‘अहिलेको हाम्रो लडाई संविधान र यसभित्र भएको संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउने मुख्य चुनौती छ ।’ संविधान र लोकतन्त्र रक्षाका लागि पाँच दल एकै ठाउँमा दह्रो ढंगले उभिरहेको पनि प्रचण्डले सुनाए । त्यस्तै केपी ओली र उनीसँग सम्बद्ध शक्तिले माओवादीलाई एक्ल्याउने प्रयास गरिरहेको पनि प्रचण्डको भनाइ थियो ।