काठमाडौं । आदिवासी जनजाति महासंघले राउटे युवतीलाई होटेलमा ल्याएर मादक पदार्थ सेवन गराएर यौन दूव्र्यवहार गर्नेहरुलाई कडा कारबाही गर्न माग गरेको छ ।
महासंघले आइतबार प्रेस वक्तव्य जारी गरेर राउटे युवतीलाई यौन दुव्र्यवहार गर्ने होटल सञ्चालक गुर्भाकोट नगरपालिकाका विनोद पुन तथा सङ्लग्न व्यक्तिहरू चमन घर्ती (जोगी) र भुपेन्द्र बुढामाथि तत्काल अनुसन्धान गरी कानूनबमोजिम कडा कारबाही अगाडि बढाउन माग गरेको हो ।
जारी वक्तव्यमा भनएको छ, ‘जुनसुकै हिंसा मानव अधिकार विरोधी कार्य हो नै, अझ यौन हिंसा चरम मानव अपराध हो । पूर्व जानकारीसहितको मञ्जुरीबिना तस्वीर तथा भिडियो खिच्ने, गलत नियतले राउटे युवतीलाई होटेलमा ल्याउने, मादक पदार्थ सेवन गराउने र यौन दुव्र्यवहार गर्नेजस्ता कार्यहरू घृणित मानवता विरोधी र अक्षम्य कार्य हुन् ।’
वक्तव्यमा थप भनिएको छ, ‘यस घट्नामा संलग्न होटल सञ्चालक गुर्भाकोट नगरपालिकाका विनोद पुन तथा सङ्लग्न व्यक्तिहरू चमन घर्ती (जोगी) र भुपेन्द्र बुढामाथि तत्काल अनुसन्धान गरी कानूनबमोजिम कडा भन्दा कडा कारबाही अगाडि बढाउन सम्बन्धित राज्य सरकार र संयन्त्रहरू तथा सम्बन्धित सम्पूर्ण निकायहरूलाई महासंघ जोड्दार आग्रह गर्दछ ।’