विराटनगर । शिकार खेल्न गएको बेला आफ्नै साथीलाई गोली लागेर मृत्यु भएपछि फरार रहेका ४ जनालाई भरुवा बन्दुक सहित मोरङ प्रहरीले पक्राउ गरेको छ ।
गत बैशाख ८ गते मोरङको केराबारी गाँउपालिका वडा नं. ३ बासघारी खोपमा शिकार खेल्न जाँदा स्थानीय हस्त कुमार राईको गोली लागेर मृत्यु भएको थियो ।
पक्राउ पर्नेमा केराबारी वडा नं. ३ का डिक बहादुर राई, बुद्धवीर लिम्बु, रामप्रसाद राई र लेटाङ नगरपालिका वडा नं. १ का विपन लिम्बु रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो । घटना लगत्तै रुबिन लिम्बू र गजेन्द्रबहादुर राईलाई प्रहरी पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरुले लुकाई राखेको ४ थान भरुवा बन्दुक समेत बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ । उनीहरुलाई ज्यान सम्बन्धि र हातहतियार खरखजाना कसुरमा मुद्दा चलाइने बताइएको छ ।