• बैशाख २० २०८३, आईतवार

कोरोना संक्रमित पत्रकार र परिवारलाई प्रेस काउन्सिलको सहयोग

जेष्ठ १८ २०७८, मंगलवार

काठमाडौं । प्रेस काउन्सिल नेपालले कोरोना संक्रमणबाट अति प्रभावित ९ जना पत्रकार र परिवारलाई सहयोग गरेको छ ।

प्रेस काउन्सिल, मिडिया विकास कोष उपसमितिको यही जेठ १४ गते बसेको बैठकले कोरोना संक्रमण भई भेन्टिलेटर-आइसियूमा उपचाररत ६ जना पत्रकार र कोरोना संक्रमणबाट ज्यान गुमाएका ३ जना पत्रकारका परिवारलाई सो सहयोग उपलब्ध गराउने निर्णय गरेको हाे।

काउन्सिलले तत्कालका लागि जनही २५ हजारका दरले सहयोग उपलब्ध गराएको हो। भेन्टिलेटरमा उपचाररत धादिङका पत्रकार सुमन अधिकारी, दोलखाका रविन्द्र गौतम (जेठ १६ गते निधन भएको) र रोल्पाका मौसम रोका मगरलाई यस्तै आइसियूमा उपचाररत मुस्ताङका पत्रकार चन्द्रेश्वर बस्ताकोटी, भोजपुरका सन्देश राई र काठमाडौँका हस्त गुरुङलाई सहयोग प्रदान गरिएको काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसालले जानकारी दिए। भुसालका अनुसार मृतक पत्रकार मुगुका सुमन मल्ल, पाँचथरका एकराज भण्डारी र कास्कीका गणेश पौडेलका परिवारलाई सहयोग उपलब्ध गराइएको छ।

काउन्सिलले आगामी दिनमा कोरोनाबाट अति प्रभावित र आर्थिक समस्या परेका पत्रकारलाई सहयोग तथा राहत उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकार, सहयोगी संघ संस्था र व्यक्तिसँग पहल एवं सहकार्य गर्ने जनाएको छ।