• बैशाख १९ २०८३, शनिबार

उपत्यकाबाट घर जान चाहनेका लागि दुई दिन समय दिइने

बैशाख १३ २०७८, सोमबार

काठमाडौँ। सरकारले लकडाउन गर्नुपूर्व नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड संक्रमणको स्थिति गम्भीर देखिएकोले कम्तीमा एकसाता निषेधाज्ञा अथवा लकडाउन हुने र त्योभन्दा अगाडि २ दिनको समय दिइने बताए ।

उनले भने, ‘एक हप्ता केही क्षेत्रलाई बन्द गराउने हो कि भनेर हामीले प्रस्ताव गरेका छौं । आम नागरिकलाई पनि असुविधा नहोस् भनेर एक दुई दिन चाहिँ हामीले समय दिने सोचेका छौँ । बन्दको स्थिति भएमा घर फर्किन पनि समय मिलोस् भन्ने हिसाबले हामी एक दुई दिन टाइम दिनुपर्छ भन्ने मानसिकतामा छौं ।’

सोमबार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कम्तीमा दुई दिनको समय दिएर एक साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको बताइएको छ ।

​कुनै एक क्षेत्रलाई मात्रै बन्द गर्दा संक्रमणको अवस्थालाई ब्रेक गर्न नसकिने भएकाले सम्पूर्ण क्षेत्रलाई पूर्णरूपमा बन्द गराउन निषेधाज्ञा जारी गर्ने निर्णय भएको पराजुलीले बताए ।

लकडाउन गर्नुभन्दा अगाडि सतर्क रहन सर्वसाधारणलाई अपिल गरिएको भए पनि मापदण्ड पूर्ण रुपमा पालना नहुँदा संक्रमणको स्थिति गम्भीर बनेको ठहर प्रशासनको छ । त्यसैले थप भयावह स्थिति आउन नदिनको लागि निषेधाज्ञा आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।