• बैशाख १९ २०८३, शनिबार

प्रश्नपत्र आउट गरेको अभियोगमा कर्मचारी सहित १० जना पक्राउ

बैशाख १३ २०७८, सोमबार

काठमाडौँ। पूर्वाञ्चल विश्वविद्यालयको इञ्जिनियरिङ संकायतर्फको बीई दोस्रो सेमेस्टरको फिजिक्स विषयको प्रश्नपत्र आउट गरेको अभियोगमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।
प्रश्नपत्र आउट गरेको अभियोगमा प्रहरीले मोरङ विराटनगर महानगरपालिका-८ बस्ने ४४ वर्षीय कोमल प्रसाद गौतम, संखुवासभा मादी नगरपालिका–६ बस्ने ३५ वर्षीय गोपाल कार्की, रूपन्देही तिलोचन नगरपालिका–१२ बस्ने ३० वर्षीय विजय पोखरेल, गोरखा भिमसेन थापा गाउँपालिका–१ बस्ने ३२ वर्षीय मिन प्रसाद भट्ट, गोरखा गण्डागी गाउँपालिका–३ बस्ने ३१ वर्षीय भरत पठन, गोरखाकै गोरखा नगरपालिका–४ बस्ने २६ वर्षीय विकास खड्कालाई पक्राउ गरेको हो ।

यसैगरी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–४ बस्ने २८ वर्षीय निर्मल खड्का, महोत्तरी रामगोपालपुर नगरपालिका–९ बस्ने २९ वर्षीय नानिपथ मण्डल, सप्तरी वोदेवरसाईन नगरपालिका–७ बस्ने २९ वर्षीय जीवन कुमार यादव र सप्तरी अग्नीसायर कृष्णसवरण गाउँपालिका–५ घर भई भक्तपुर लोकन्थली बस्ने २६ वर्षीय महेश यादव रहेका छन् ।

परीक्षा पूर्व नै प्रश्नपत्र बाहिरिएको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्दा उक्त विश्वविद्यालयका फोटोकपी गर्ने कर्मचारीले सामाजिक सञ्जाल प्रयोग गरी प्रश्नपत्र आउट गरेको देखिएको छ। साथै उक्त कार्यमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेको १० जनाविरुद्ध शिक्षा ऐन, २०२८ बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।