काठमाडौँ । काठमाडौँ उपत्यकामा आगामी बिहीबारदेखि निषेधाज्ञा जारी हुने भएको छ ।
सोमबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले कोरोना सङ्क्रमण नियन्त्रणका लागि वैशाख १६ गते बिहीबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
वैशाख १६ देखि काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने बाताइएको छ । सार्वजनिक, निजी सवारीसाधन पूर्णरुपमा बन्द हुने छ । यस्तै, एम्बुलेन्स, शव वाहन, दमकल, कूनीतिक नियोग, प्रेसलगायतका गाडी भने चल्नेछन् ।
अत्यावश्यक कामबाहेक हिँडडुलमा रोक लगाइने छ । यस्तै, खाद्यान्त, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तुहरूका लागि बजार खुला गरिने छ ।
होटल र रेष्टुरेन्ट खोल्न पाइने छैन । तर, होम डेलिभरी भने गर्न सक्छन् ।
सरकारी कार्यालय खुल्नेछन् । बैंक तथा वित्तीय संस्था आधा जनशक्ति राखेर सञ्चालन गर्न पाइने छ ।