काठमाडौँ। काठमाडौँ उपत्यकाभित्र कोरोना संक्रमितको संख्या झन् झन् बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा लगाउने तयारी गरिएको छ । आज (सोमबार) काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच उपत्यकामा निषेधाज्ञा लगाउने विषयमा संयुक्त बैठक बसिरहेको छ ।
वैशाख १६ गतेबाट निषेधाज्ञा लागु गर्ने प्रस्तावबारे छलफल भइरहेको र के–के बन्द गर्ने र के–के खुला गर्ने भन्ने बिषयमा छलफल भइरहेको बताइएको छ
स्रोतका अनुसार सार्वजनिक सवारी, रात्रिकालीन सबै व्यवसाय, होटेल रेस्टुरेन्ट, सार्वजनिक सेवालगायत दर्जनभन्दा बढी क्षेत्रमा निषेधाज्ञा लगाउनेबारे छलफल भैरहेकाे छ । केही बेरपछि तीनवटै प्रशासनले संयुक्त धारणा सार्वजनिक गर्नेछ ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले पनि ५ सय भन्दा बढी संक्रमित भएका शहरी जिल्लामा निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरिसकेको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा ५ सयभन्दा बढी संक्रमित छन् ।