काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले आइतबार विभिन्न सञ्चारमाध्यममा कार्यरत सम्पादकहरूसँग पहिलो चरणको छलफल गरेको छ।
प्रतिष्ठान प्रदेश समितिले आगामी दिनमा के काम गर्नसक्छ/गर्नुपर्छ तथा महासंघ र समाचारकक्षबीच सम्बन्ध कसरी सुमधुर बनाउन सकिन्छ भन्ने उद्देश्यले पहिलो चरणको छलफल आयोजना गरेको प्रतिष्ठानले जनाएको छ।
छलफलमा सहभागि सम्पादकहरूले महासंघ त्यसका सदस्य, सम्पादकहरू मात्र होइन सञ्चार उद्यमीहरूबीचको निरन्तर संवादको आवश्यकता औँल्याएका थिए।
सबै पक्षको सहकार्य र छलफलबाट नै समस्याको समाधानमा पुग्न सकिने धारणा राख्दै सहभागिहरूले पत्रकारितामा आएका नयाँ चुनौति र अवसरका विषयमा पनि पत्रकार महासंघले पत्रकारको क्षमता अभिबृद्धि गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए। त्यसका लागि नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले समाचार कक्षसँगको सम्बन्ध सुमधुर बनाएरमात्रै महासंघले श्रमजीवी पत्रकारको समस्या हल गर्न सक्ने बताए।
उनले भने, ‘सम्पादकहरु पत्रकारको प्रतिनिधि हो, श्रमजीवीलाई समस्या नहोस् भन्नेमा हाम्रो पनि तत्परता रहन्छ।’
महासंघमा व्यवसायिक पत्रकारको उपस्थिति बढ्दै जानु खुसीको कुरा भएको बताउँदै लुइँटेलले महासंघले श्रम सुरक्षासँगै व्यवसायिक दक्षतामा पनि ध्यान दिनुपर्नेमा जोड दिए।
ईकागज डट कमका प्रधान सम्पादक हरिबहादुर थापाले प्रविधि र ट्रेन्ड फरक हुँदा पनि पत्रकारको शैली पुरानै रहेको उल्लेख गरे। अध्ययन र अन्तर्क्रिया नहुँदा कतिपय अवस्थामा पत्रकारहरु बहकिने अवस्था आएको बताए। उनले महासंघ आफैँ सृजनात्मक हुन नसकेको जिकिर गरे।
‘महासंघ मौन रहँदा कतिपय विषयहरु पूरा हुँदैनन्, महासंघ सबैको हो,’ उनको सुझाव थियो, ‘अन्तरक्रियामा बसियो भने सहज नै हुछ, सम्पादकको भूमिका सहयोगी रहन्छ।’
रिपब्लिका दैनिकका सम्पादक सुवास घिमिरेले नेपाली पत्रकारहरु दैनिक रिपोर्टिङभन्दा टाढा जान नसकेको उल्लेख गरे।
‘हामीसँग ५–१० वर्षपछि के हुन्छ भनेर विश्लेषण गर्ने जनशक्ति नै छैन,’ उनको भनाइ छ। महासंघ, सम्पादक र पत्रकारबीच ‘मिस कम्युनिकेसन’ हुँदा समस्याहरु जहाँको त्यहिँ रहेको उनको भनाइ छ।
महासंघले आफ्नो शक्ति र उपस्थितिलाई चिन्न नसकेको घिमिरेले बताए।
नेपाली बहस डट कमका प्रधान सम्पादक चेतन अधिकारीले पत्रकार महासंघ व्यवसायिक भन्दा पनि राजनीतिक चरित्रको भएको बताए।
‘धेरै गैरपत्रकारको प्रवेश भयो, शुद्धीकरण हुनुप-यो भनिरहेका बेला यहि वर्ष हजारौं गैरपत्रकार थपिएको छ,’ उनले भने, ‘महासंघको बहस समावेशी कसरी बनाउने, पदाधिकारी बढाउने भन्नेमात्रै बढ्ता हुन्छ। क्षमता विकास कसरी गर्ने भन्ने छलफल गर्नुपर्छ।’
सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले पत्रकार महासंघले सदस्यसँगको सम्बन्ध मतका लागि मात्रै सीमित गरेको बताइन्। पत्रकारको व्यवसायिकीकरणका लागि सिरिजमा छलफलहरु गर्न सकिने उनको धारणा छ।
‘पत्रकारले महासंघको रिन्यू गर्दैनौं भन्ने पनि आयो। भोटका लागि मात्रै ओरिन्टेसन गर्न सकिन्छ’ उनले भनिन्, ‘सिरिज चलाउन सके पत्रकारले महासंघको अपनत्वको फिल गर्न सक्छन्।’