काठमाडौँ। भारतीय योगगुरु रामदेव बाबाले नेपाल वैदिक सनातन एव धार्मिक संस्कृतिले धनी अद्वितीय देश हो भन्दै आफूले यहाँको धार्मिक तथा आध्यात्मिक पर्यटनको भारतमा निःशुल्क प्रचार गर्ने बताएका छन्।
शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेपछि प्रतिक्रिया दिँदै उनले भने, ‘नेपाल पशुपतिनाथ, मुक्तिनाथको देश हो, यो सीता माता र भगवान गौतमबुद्ध जन्मिएको धर्ती हो, म नेपालको यो धार्मिक तथा आध्यात्मिक पर्यटनको व्यापक प्रचार गर्छु, निःशुल्क प्रचार गर्छु।’
उनले नेपालमा आएर यस्ता पक्षको अध्ययन गर्न तथा धार्मिक पर्यटनका साथै यहाँको हिमालय क्षेत्र र स्वच्छ हावापानीबाट लाभान्वित हुन भारतीय पर्यटकलाई आग्रह पनि गरे। नेपाल कैयौँ ऋषिमुनिको जन्मभूमि र तपोभूमि भएको स्मरण गर्दै उनले नेपालको धर्ती योग तथा ध्यानका लागि संसारकै उत्कृष्ट धर्ती भएको पनि बताए।
बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेव बाबाले शनिबार बिहान चन्द्रागिरिमा योग ध्यान तथा योग प्रशिक्षण गराएका थिए। त्यस प्रशिक्षणमा उनका साथमा योगगुरु आचार्य बालकृष्ण पनि सहभागी थिए।