मेरो भोको बच्चा रोएको
तिमी तब मात्र सुन्छौ
जब उस्को पेट भर्न
सडकमा नारा गुन्ञ्जिन्छ
तर मेरो बच्चा दिनहुँ
भोकसँग लडिरहन्छ
त्यो तिमीले कहिल्यै देखेनौ ।
म बस चढ्न नपाएर
सडकमा खाली खुट्टा हिंडेको
तिमी तब मात्र देख्छौ
जब मैले बस चढ्न पाउनु पर्छ भन्दै
सडकमा चक्काजाम गरिन्छ
तर महङ्गिएको बस भाडा तिर्न नसकी
म दिनहुँ खाली खुट्टा यहि बाटो हिंड्छु
त्यो तिमीले कहिल्यै देखेनौ ।
मेरा बच्चा विद्यालय जान नपाएको
तिमी तब मात्र देख्छौ
जब विद्यालय जान पाउनु पर्छ भन्दै
विदालय बन्द गरिन्छ
तर विद्यालयको महंगो शुल्क तिर्न नसकी
वर्षौं पहिले नै मेरा बच्चाले पढ्न छाडिसके
त्यो तिमीले कहिल्यै देखेनौ ।
तिमी,
मेरो निभेको चुल्हो
सधै देख्ने गर
तिमी,
मेरो बच्चा भोकले रोएको
सधै सुन्ने गर
तिमी,
म खाली खुट्टा हिंड्दा
बिझ्ने काँडाको पीडा
सधै महसुस गर
तिमी,
मेरा बच्चा विद्यालय जान नपाई
घरमै बसेको
सधै देख्ने गर
अनि,
मेरो चुल्होमा आगो बाल्न
सडकमा आगो कहिल्यै बल्ने छैनन्
मेरो बच्चाको पेट भर्न
सडकमा नारा कहिल्यै गुञ्जिने छैनन्
मैले पनि बस चढ्न पाउनु पर्छ भन्दै
सडकमा चक्काजाम कहिल्यै हुने छैनन्
मेरा बच्चा स्कूल जान पाउनु पर्छ भन्दै
स्कूल कहिल्यै बन्द हुने छैनन्
महंगी र भ्रष्टाचारका विरुद्ध
नेपाल कहिल्यै बन्द हुने छैन
नेपाल सधै खुल्ला हुने छ
नेपाल सधै खुल्ला हुने छ ।
२०७८-७-३०