एक जना धनी व्यक्तिकोमा सघाउने नोकर बस्थ्यो । उसको काम नजिकैको खोलाबाट पानी ल्याउनु हुन्थ्यो । जति पानी ल्यायो, त्यसका आधारमा उसले पैसा पाउँथ्यो । पानी ल्याउनका लागि दुईवटा ठूला माटोका घैला थिए । त्यो नोकरले खर्पनमा ती घैला राखेर पानी ओसार्ने गथ्र्यो ।
उसले पानी ओसार्ने घैलामध्ये एउटा सद्दे थिए । अर्को घैलाको घाँटी भन्दा अलि तल प्वाल परेको थियो । सधैसधै काँधमा खर्पन राखेर पानी ल्याउँदा उसको टाउको र काँध झुकेको हुन्थ्यो । बाहिरबाट हेर्दा कठिनका साथ उसले पानी ल्याइरहेको जस्तो लाग्थ्यो । उसले दुवै घैलामा भरिभरि पानी बोक्थ्यो ।
खोलादेखि उसको मालिकको घरसम्म पुग्दानपुग्दै दुलो परेको घौलाको पानी आधा हुन्थ्यो । जहिले पनि ऊ डेढ घैला पानी बोकेर घरभित्र छिरिरहेको हुन्थ्यो । दुई वर्षदेखि ऊ नियमित रुपमा यही गरिरहेको थियो । यस्तोमा स्वाभाविक रुपमा सद्दे घैलालाई घमण्ड हुने गर्दथ्यो । ऊ ठान्थ्यो, म जहिले पनि पुरापुर पानी बोकिरहेको छु ।
मलाई बनाउनेले पनि कति गज्जबसँग बनाएको छ, किनभने मलाई बनाइएको जुन उद्देश्यले हो, म त्यो पूर्णरुपमा गरिरहेको छु । पुरानो र दुलो परेको घैलालाई चाहिँ आफूप्रति सधैँ दुःख लाग्थ्यो । ‘मलाई किन यस्तो बनाएको होला, मैमाथि किन यस्तो कमी हुनुपर्ने ?’ दुलो परेको घैलाको मनमा यस्तै कुरा मनमा खेल्थे ‘मलाई पनि सद्दे बनाइदिएको भए, म पनि त घैलाभरी पानी बोक्दो हुँ ।
‘आफूभित्र दोषका कारण उ प्रायः दुःखी हुन्थ्यो । दुःख यति बढ्यो कि एक दिन पीडामा आफुलाई सधै बोकिरहने मालिकसँग लजाउँदै माफी माग्यो,‘मेरा कारणले गएको दुई वर्षदेखि तिमीले आधा मात्र पानी बोकिरहेका छौ । तिमी मिहिनेत त पुरै गर्छौ तर त्यो मेहनतको पुरा ज्याला पाइरहेका छैनौ ।’
पानी बोक्ने ज्यालादारले भन्यो,‘जब भोलि हामी मालिककोमा जान्छौँ बाटोमा फुलेका फूलहरु हेर्दै जाऊँ । तिमीलाई आनन्द लाग्नेछ । ‘भोलिपल्ट ज्यालादार आफ्नो उही खर्पन र दुई घैला लिएर जब आफ्नो मालिकको घरतिर जाँदै थियो, दुलो परेको घैलाले बाटोमा ख्याल गरायो । दुलो परेको घैलापट्टि राम्रा राम्रा जङ्गली फूल फुलेका थिए । ती जङ्गली फूल ज्यादै सुन्दर देखिइरहेका थिए । पानी बोकेर मालिककोमा पुगिसक्दा त्यहि राम्रो फूलले पनि उसको अनुहारमा चमक ल्याउन सकेन । दुलो परेको घैला पुनः निरास भयो किनभने उसले बोकेको पानी ज्यालादारको मालिककोमा पुगिसक्दा आधा भइसकेको थियो । आफ्नो यो कमजोरीका कारण उसलाई हुनसम्मको पीडा र लघुताभाष भयो ।
दुलो परेको घैलाको निन्याउरो अनुहार देखेर ज्यालादारले भन्यो,‘तिमीले ख्याल गरायौ ? ती फुलेका जङ्गली फूल कसरी फुले र एकातिर मात्रै किन फुले ? लौ सुन, म तिमीलाई बताउँछु । मलाई पहिलेदेखि नै थाहा थियो । तिम्रो घाँटीमुनि प्वाल छ । र, यो प्वालको मैले सक्दो फाइदा लिएँ । मैले हामी हिंडने गोरेटोको दुवै किनारामा फूलका बिऊहरु छरिदिएको थिएँ । जब हामी त्यो बाटोबाट पानी ल्याउँथ्यौँ, तिम्रो पानी ती बिऊमा पर्थे ।
तिमीले छोडेको पानीका कारण ती बिऊले चिस्यान पाए र त्यो चिस्यानका कारण हुर्किए । र आज ती मज्जाले सुन्दर फूल बनिसकेका छन् । केहीबेरको मौनतापछि ज्यालादार नोकरले भन्यो,‘अब म यी फूललाई टिप्छु र मालिकको घरभरी सजाउँछु । साँच्ची तिम्रो सहयोग नभएको भए, यी फूल यसरी उम्रिन्थे होलान ? अनि तिम्रो सहयोग नभएको भए, मेरो मालिकको घरको शोभा बढाउन सक्थेँ होला त ?